अबको १० वर्षमा मुलुकको कायापटल : प्रधानमन्त्री
भक्तपुर, ७ कात्तिक । प्रधानमन्त्री सुशील कोइरालाले अबको १० वर्षभित्र मुलुकको कायापटल हुने बताएका छन् ।
नेपाल संवत् ११३५ को अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले शुक्रबार मध्यपुरथिमिको शङ्खधर साख्वाः चोकमा आयोजना गरेको कार्यक्रममा संवत्का प्रवर्तक साख्वाःको प्रतिमामा माल्यार्पण गर्दै प्रधानमन्त्री कोइरालाले अहिलेको समय आन्दोलन गर्ने र अशान्ति फैलाउने समय नभएको बताए । उनले अहिले देशमा शान्ति र अमनचैन बनाइराख्ने र जनआन्दोलन २०६२/६३ को उपलब्धिलाई संस्थागत गर्ने समय हो भने ।
अब आउने संविधानले सबै वर्गका नागरिकलाई समेट्ने बताउँदै उनले भने, “जनता विरोधी संविधान आउँदैन । सबै जनतालाई समेटेर संविधान आउँछ, म किरण वैद्यजीलाई विश्वास दिलाउन चाहन्छु, जनविरोधी संविधान आउँदैन ।”
विगतका नराम्रा कार्यलाई बिर्सेर जनतालाई सुखी बनाउने काममा लाग्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, “अहिले झगडा, आन्दोलन र द्वन्द्व गरेर अगाडि बढ्ने समय होइन, सहमतिबाट अगाडि बढ्ने समय हो ।”
उनले अगाडि भने, “परिवर्तनको विरोधमा कोही पनि जानु हुँदैन, जो परिवर्तनको विरोधमा जान्छ, ऊ लोप भएर जान्छ ।”
प्रधानमन्त्री एकोहोरो भएको गुनासो आएको प्रसङ्ग कोट्याउँदै उनले मुलुकको विकास, शान्ति, अमनचैन र संविधानका लागि आफू एकोहोरो भएर लाग्ने बताए ।
प्रकाशित मिति:
October 24, 2014