स्याब्रवेंसी जाँदै गरेको बस नुवाकोटमा दुर्घटना, आठको मृत्यु ५० बढी घाइते
काठमाडौँ, ७ कात्तिक । काठमाडौँबाट रसुवाको सदरमुकाम धुन्चे हुँदै स्याब्रवेंसी जाँदै गरेको बा२ख २२६६ नम्बरको यात्रुबाहक बस आज बिहान नुवाकोट जिल्लाको बेलकोट गाविस–६ को ती गाउँ नजिकैको भिरबाट खसी दुर्घटना हुँदा आठजनाको घटनास्थमै मृत्यु भएको छ ।
अहिलेसम्म ५२ जना घाइतेको उद्धार गरी काठमाडौँ र विदुरस्थित जिल्ला अस्पतालमा उपचारका लागि लगिएको प्रहरी नायब उपरीक्षक अरुण पौडेलले जानकारी दिएका छन् ।
अहिलेसम्म कुनै पनि मृतकको सनाखत हुन सकेको छैन । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् स्थानीय बासिन्दाद्वारा उद्धार कार्य भइरहेको छ ।
पासाङल्हामु राजमार्गको भिरबाट करिब १५० मिटर तल बस खसेको हो । राजमार्ग साँघुरो भएकाले र सडक बिग्रेकाले दुर्घटना भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए ।
दुर्घटनामा परी तीनजना विदेशी नागरिकसमेत मृत्यु भएको बताइएको छ । दुर्घटनाग्रस्त बस पासाङल्हामु बस व्यवसायी सङ्घको हो । घाइतेहरुको उद्धारका लागि हेलिकोप्टरसमेत परिचालन गरिएको प्रजिअ निरौलाले जानकारी दिए ।
प्रकाशित मिति:
October 24, 2014