कम्पनीले स्वदेश नपठाउँदा मलेसियामा छटपटाउँदै एक बिरामी नेपाली, स्वदेश फिर्तीमा सहयोगको अपिल
कात्तिक ११ । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका एक नेपाली बिरामी भएर थलिदाँ पनि स्वदेश आउन कम्पनीले नदिँदा समस्यामा परेका छन् ।
खोटाङस्थित दोर्पा घर भई मलेसियाको एलवाई फर्निचर कम्पनी (Ly furniture sdn.bhd. no.15 jln wawasan utama,kaw perindustrian sri gading,batu pahat 83300 batu pahat johor) मा कार्यरत गुणराज थापा बिरामी भएर थलिएसँगै नेपाल आउन नपाउँदा अवस्था बेहाल छ ।
मलेसियाको पुत्रा हस्पिटलले नेपाल पफाईदिनु भनेर सिफारिस दिँदा पनि कम्पनीले पैसाको बार्गेनिंग गरेर उनलाई स्वदेश नपठाएको हो ।
'तलाई केही भएको छैन, नेपाल जाने भए पैसा तिरेर जा' भनेपछि उनी बिचल्लीमा परेका छन् । सँगै कम्पनीमा काम गर्ने एक नेपालीका अनुसार अनुसार नेपाल जानका लागि २४ सय रिम कम्पनीले मागेको छ । उनीसँग उक्त रकम नहुँदा र सम्बन्धित निकायले पहल कदमी नगरिँदा उनी साथीभाईसँग हारगुहार गर्दै बसेका छन् ।
बिरामीका कारण एक हप्ता कोठामा आराम गरेर मंगलबार मात्र उनी कार्यालय गएका थिए, मंगलबार पनि काम गर्न नसकेपछि उनी फर्केर कोठामा सुतिरहेको सँगै काम गर्ने एक साथीले जानकारी दिएका छन् ।
थापा र उनका साथीले मलेसियास्थित नेपाली दूतावास, नेपाल सरकार तथा सम्बन्धित निकायसँग नेपाल फिर्ता गरिदिन सहयोगका लागि अपिल गरेका छन् ।
नेपाली दुतावास उनी रहेको ठाउँबाट टाढा रहेको र उनी त्यहाँसम्म जान नसक्ने भएकाले दुतावास समेत नगएको उनको भनाई छ ।
सामाखुसीस्थित लिंकस्टार मेनपावरबाट दुई वर्षअघि उनी मलेसिया पुगेका हुन् । मेनपावरले समेत नेपाल फिर्ता गर्न सहयोग नगरेको उनले गुनासो गरेका छन् ।
मलेसियास्थित पुत्रा हस्पिटलको रिपोर्टमा थापाको छातीमा समस्या रहेको उल्लेख गरिएको छ । विभिन्न हस्पिटलमा उपचार गर्दा पनि निको नभएकाले थप उपचारका लागि नेपाल पठाईदिन पत्रमा नै हस्पिटलले अनुरोध गरे पनि उनी भने नेपाल फर्कन नपाएका हुन् ।
प्रकाशित मिति:
October 28, 2014