पाँच माओवादीको संयुक्त श्रम अभियान सुरु
काठमाडौं १० जेठ । छुट्टाछुट्टै पाँच माओवादीले भूकम्प पीडितका लागि भौतिक पुनर्वास र पुनः निर्माणको संयुक्त जनस्वयं सेवा तथा श्रम अभियान सुरु गरेका छन् ।
पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादी, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित पाँच माओवादीले राजधानीको वसन्तपुर नजिकैको स्थान मरुहिटीबाट आइतबार श्रम अभियानको उद्घाटनसहित कामको संयुक्त थालनी गरेका हुन् ।
उदघाटन कार्यक्रममा छोटो मन्तव्य दिँदै एमाओवादी महासचिव कृष्ण बहादुर महराले राष्ट्रिय विपतको समाधान गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए । नेकपा–माओवादी उपाध्यक्ष सिपी गजुरेलले अहिलेको आवश्यकता नै एकजुट भएर जनताको सेवा गर्नु रहेको भन्दै कम्युनिष्ट पार्टी जनताको सेवक भएकाले जनताको घर घरमा पुगेर सेवा गर्नुपर्ने बताए । उनीहरुले कार्यकर्तालाई जनताका समस्या बुझेर सक्दो श्रम गर्न निर्देशन समेत दिएका छन् ।
अभियान अन्तर्गत भूकम्प अति प्रभावित १५ जिल्लामा भग्नाबशेष सफा गर्ने, अस्थायी बसोबास गराउने र पुनः निर्माणको काममा सहभागी हुनेछन् । श्रम अभियानमा सहभागी टोलीले पीडितका लागि आवास निर्माण गरिदिने, भत्किएका विद्यालय तथा स्वास्थ्य चौकीहरुकोे अस्थायी घर निर्माण गरिदिने, भत्केका घरहरुको सामग्री पन्छाउने तथा पीडितको आवश्यकता अनुसार जनताको दैनिकीसँग जोडिएका विषयमा पनि श्रम गर्ने कार्यदल सदस्य रामदिप आचार्यले बताए ।
यसअघि पाँच वटै माओवादीले अलग अलग रुपमा उद्धार, राहत तथा पुनः निर्माणको कार्य गर्दै आएका थिए । एमाओवादीले केही दिनअघि मात्रै स्वयंसेवा दस्ता परिचालन गरेको थियो । वैद्य नेतृत्वको माओवादीले १० दिने उद्धार तथा पुनः निर्माण अभियान सम्पन्न गरेर दोस्रो अभियान अन्तर्गत पुर्नवास तथा पुननिर्माणको १५ दिने अभियान थालेको छ । अन्य माओवादी पार्टीले पनि पनि विभिन्न ठाउँमा घर टहरा बनाउन सुरु गरिसकेको छन् । अब भने पाँच वटै माओवादीले सहकार्यका साथ अतिप्रभावित ठाउको बाँडफाँड तथा कतिपय ठाउँमा संयुक्त रुपमा काम थालेका हुन् । अभियानको आइतबार काठमाडौंसहित अन्य केही जिल्लामा उदघाटन भएको छ । सोमबार ललितपुर लगायत अन्य जिल्लामा उदघाटनपछि काम सुरु हुने कार्यदलले जनाएको छ ।
कार्यदलले सवै जिल्लामा जाने टोलीको कार्यविभाजन समेत गरेको छ । कार्यविभाजन अनुसार काठमाडौँ जिल्लामा वैद्य माओवादीका कुलप्रसाद केसी, ललितपुरमा एकीकृत माओवादीका शक्ति बस्नेत, भक्तपुरमा एकीकृत माओवादीका रामचन्द्र झा, धादिङमा एकीकृत माओवादीका टोपबहादुर रायमाझी, गोरखामा नेकपा–माओवादीका इन्द्रमोहन सिग्देलले टोलीको नेतृत्व गर्नेछन् ।
यस्तै, नुवाकोटमा नेकपा (माओवादी)का संयोजक मात्रिका यादव, काभ्रेमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापा, सिन्धुपाल्चोकमा एमाओवादीका वर्षमान पुन तथा दोलखामा नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले टोली नेतृत्व गर्ने पाँच माओवादीको कार्यदलले जनाएको छ ।
प्रकाशित मिति:
May 24, 2015