भूकम्पपीडितका दुःखमा दलका नेता एकजुट
राजाराम कार्की
काठमाडौँ, ९ जेठ । जनतालाई आपत परेका बखत दलका नेताहरु एकापसमा एकताबद्ध भई पुनःनिर्माणमा गोलबद्ध देखिएपछि भूकम्पपीडितमा उत्साहको सञ्चार भएको छ ।
बस्नलाई बास, खानलाई अन्न र शरीर ढाक्न कपडा गुमाएका भूकम्पपीडितको आत्मामा मलमपट्टि लगाउन कम्मर कसेर गाउँका दूरदराजमा दलका नेताहरु जाने क्रम बढेपछि भूकम्पपीडितमा जीवन रक्षाको आशा पलाएको हो ।
वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि लगातार गइरहेका पराकम्पबाट लाखौँ नेपालीको गाँस, बास र कपास खोसिएका कारण दलका नेताले जनताको दुःख कष्ट बुझेर उनीहरुका आँगनमा पुगी आँसु पुछ्ने काम धमाधम गरिराखेका छन् ।
नेपाली काँग्रेसले ‘नेपालको नवनिर्माण’, नेकपा एमालेले ‘आफ्नो घर आफैँ बनाउँ’, एनेकपा माओवादीले ‘राष्ट्रिय श्रम अभियान’ र मोहन वैद्य नेतृत्वको माओवादीले श्रम तथा उद्धार कार्यदलको मुद्दा बोकेर भूकम्पपीडितका घरदैलोमा गाँस, बास र कपासका योजना लिएर पुगेको देखिन्छ ।
यतिखेर उनीहरु जनताका दैलोमै राष्ट्रिय सङ्कल्प लिएर पुगेका छन् । बचेखुचेका सामान पुरिएको, अन्नपात लत्ताकपडा सङ्कलन गर्न र ओत लाग्न मिल्ने अस्थायी प्रकृतिका घर निर्माण गरिदिन । त्यतिमात्र होइन दलका नेताहरुलाई सरकारका मन्त्री, सुरक्षाका तीनै निकाय र राष्ट्रसेवक कर्मचारीहरुले समेत साथ र सहयोग दिएका छन् ।
पीडितहरु छानो निर्माणमा आफूसँग भएको स्रोतसाधनको जोहो तथा सङ्कलनमा जुटेका कारण आपतमा देखिएको एकताले आत्मामा पुगेको चोट छिट्टै निको हुने सङ्केत देखिएको काङ्ग्रेस युवा नेता प्रदीप पौडेलले बताए ।
हातमा सीप हुनेहरुले नमुना घरको ढाँचा दिएका छन् दलका नेताहरुलाई । सरकारले बीउबिजन तथा ढलेका काठको व्यवस्था गरेको छ । दाताहरुले राहत वितरण गरेका छन् । धाँजा फाटेका जमिन पहिरोमा परिणत हुन सक्ने शङ्काका कारण केही भूकम्पपीडित चौपाया छोड्दै सुरक्षित र पायक पर्ने आफन्तको शरणमा र अन्यत्र बसाइँ सर्ने क्रममा छन् ।
तराईबाट अन्न, लत्ताकपडा काठपात पहाडमा भित्रिएको छ । सुरक्षा निकाय दिनरात नभनी उनीहरुको सहयोगमा जुटेका छन् । युवा, विद्यार्थी, दाता, समाजका अगुवाले देखाएको प्रेमले तमाम नेपालीमा भावनात्मक एकताको लर्को नै लागेको छ ।
राहतको नाममा नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका सभासद् पशुपति चौलागाईंले विदेशी चलखेल र नेपाललाई क्रीडास्थल बनाउनबाट रोक्नुपर्ने बताए । सरकारले इच्छुक दाताहरुलाई सिधै सरकारको ढुकुटीमा रकम जम्मा गरिदिन आग्रह गरेको छ । केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आफूखुसी राहत वितरण गरिरहेका छन् । राहतभन्दा धेरै प्रचारबाजीमा सञ्चारमाध्यमलाई उपयोग गर्ने गरेको आरोप उनीहरुमाथि छ ।
केही महिनाभित्रै मनसुन सुरु हुँदैछ, त्यसैले अहिले एकले अर्कालाई लडाउने, अर्काको कुरा काट्ने र अस्वस्थ आलोचना गर्ने समय होइन भन्छन् काँग्रेस उपसभापति रामचन्द्र पौडेल ।
सिन्धुपाल्चोकको साँगाचोकमा रहेको जनजागृति उमाविको १५ कोठे अस्थायी टहरा तथा श्रम शिविरको शुभारम्भ गर्दै एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दलका राजनीतिक मुद्दा परिवर्तन भएको जानकारी दिए । उनले भूकम्पअघिका मुद्दा थन्काउने र भूकम्पले सिर्जना गरेको राष्ट्रिय सङ्कटमा राहत र उद्धार कोषबाट मुलुक पुनःनिर्माणका कार्यमा जुट्न पनि आग्रह गरे ।
पूर्व अर्थमन्त्री तथा नेकपा ९एमाले०का नेता सुरेन्द्र पाण्डेले विनाशकारी भूकम्पले भग्नावशेषमा पुरिएका शव, घाइतेका चित्कार र बाँचेकाको भयावह अवस्थामा राहतका नाममा विदेशी चलखेलले उत्पन्न गर्ने समस्या मुलुकको राष्ट्रियता र स्वाभिमानमै पहिरो बनेर खडा भएको बताए ।
वैशाख १२ मा गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७ दशमल ८ रिक्टर स्केलको विनाशकारी भूकम्प र त्यसपछि लगातार गइरहेको पराकम्पले १७ जिल्लाको जनजीवनलाई अस्तव्यस्त बनाएको छ । भूकम्पका कारण करिब तीन लाखभन्दा बढी पूर्ण र अरु थप तीन लाख घरमा आंशिक क्षति पुगेको अनुमान छ । दश हजार ७९० सरकारी कार्यालय भवन र १४ हजार ९९७ शैक्षिक संस्था ध्वस्त भएका छन् । आँकडाअनुसार पाँच खर्बभन्दा बढी क्षति भएको छ ।
प्रकाशित मिति:
May 23, 2015