आन्दोलनमा गोली चलेको छैन, सामान्य बल प्रयोग : प्रशासन
३१ साउन । नवलपरासी जिल्ला प्रशासनले जिल्लामा भएका आन्दोलनका क्रममा कुनै पनि स्थानमा गोली नचलेको जनाएको छ ।
विभिन्न सञ्चारमाध्यमले आन्दोलनका क्रममा गोली चलेको र गोली लागेर केही व्यक्ति घाईते भएको भन्ने समाचार सम्प्रेषण गरेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले झडपमा सामान्य बल प्रयोगमात्र गरिएको बताएका छन् ।
आन्दोलनकारीहरुले जिल्लाका केही प्रहरी चौकी र जनप्रतिनिधिहरुको घरमा आक्रमणको प्रयास गरेपछि स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्याँस र लाठीमात्र प्रहार गरेको उनले बताए ।
नवलपरासीमा स्थानीयबासिन्दा, थारु समुदाय र मधेश केन्द्रीत दलहरुले छुट्टा छुट्टै माग राखेर आन्दोलन गरिरहेका छन् । जिल्लामा थरुहट राज्यको माग गर्दै थारु समुदाय, ६ प्रदेशको विरोधमा मधेश केन्द्रित दल र अखण्ड नवलपरासीको माग गर्दै स्थानीय विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
आन्दोलनकारीले नवलपरासी क्षेत्र नं. ४ का सभासद् बैजनाथ चौधरीको घरमा आक्रमणको प्रयास गरेपछि प्रदर्शन झडपमा बदलिएको थियो ।
सोही क्रममा प्रहरीले गोली चलाएको आरोप प्रदर्शनकारीले लगाएका थिए ।
प्रकाशित मिति:
August 16, 2015