प्रहरी हस्तक्षेप नरोकिए कडा प्रतिकारमा उत्रन्छौं : फोरम
काठमाडौँ, ३१ साउन । सङ्घीय समाजवादी फोरम, नेपालले संविधान मस्यौदा र विभेदकारी सीमाङ्कनविरुद्ध आह्वान गरिएकोे शान्तिपूर्ण नेपाल बन्दका क्रममा प्रहरीले हस्तक्षेप गरी सङ्घीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत देशभरिबाट सयौँ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको घटनाको विरोध गरेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्तिमा भनेका छन् –“अधिकार प्राप्तिका लागि शान्तिपूर्ण बन्द तथा प्रदर्शन गर्न पाउने लोकतान्त्रिक अधिकार भएकाले शान्तिपूर्ण गतिविधिमा हस्तक्षेप नगर्न र पक्राउ परेकालाई तत्काल रिहा गर्न सरकारसँग माग गर्दछु ।
उनले शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी हस्तक्षेप नरोकिए आफनो पार्टी कडा प्रतिकारमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।
बन्दका क्रममा एम्बुलेन्स सेवा, दुग्ध तथा अतिआवश्यक सेवा, सुरक्षा निकाय, दमकल, सञ्चारमाध्यम, रेडक्रस, मानवअधिकारलगायतको सवारीसाधनमा अवरोध नपु¥याउन पार्टी पङ्क्तिलाई आह्वान गर्दै अध्यक्ष यादवले यी सेवालाई अवरोध गर्ने पार्टीको त्यस्तो कुनै नीति नरहेको प्रस्ट पारेका छन् ।
प्रकाशित मिति:
August 16, 2015