गोदावरी मेलामा ४१ लाख दर्शनार्थीद्धारा दर्शन
काठमाडौँ, २८ भदौ । ललितपुरको गोदावरीमा लागेको गोदावरी सिंहस्त १२ वर्षे मेलामा भने आजसम्म ४१ लाख दर्शनार्थीले दर्शन गरिसकेका छन् ।
भदौ १ गते सिंह सङ्क्रान्तिदेखि सुरु भएको एक महिने मेलाका अवसरमा देशका विभिन्न भागबाट आउने दर्शनार्थीको चाप दिन प्रतिदिन बढिरहेको छ ।
मेला मूल आयोजक समितिका सहसंयोजक मधुसुदन पौडेलका अनुसार दर्शनार्थीको अत्यधिक चाप बढेसँगै पछिल्ला समयमा नियमित पूजाबाहेक अन्य सम्पूर्ण समयमा दर्शनको व्यवस्था मिलाइएको छ ।
“मन्दिरमा नियमित पूजाका लागि बिहान ४ देखि ५ बजेसम्म र बेलुका ७ देखि ८.३० बजेसम्मको समयबाहेक अन्य सम्पूर्ण समय दर्शनको व्यवस्था मिलाइएको छ,” उनले भने, “पछिल्लो समयमा विद्युत् प्राधिकरणसँग अनुरोध गरी रातको समयमा विद्युत्भार कटौती नहुने व्यवस्था मिलाइएको छ, दर्शनार्थीको सुरक्षाका लागि सुरक्षाकर्मीसहित चौबीसै घन्टा स्वयम्सेवक परिचालन र निगरानीका लागि ती क्षेत्रमा सिसिटिभी जडान गरिएको छ ।”
मेलाको सुरक्षा व्यवस्थालाई दृष्टिगत गरी जनपथ प्रहरीका १२० जना सुरक्षाकर्मी, स्थानीय स्वयम्सेवक १५०, स्काउटका ८० जना र ट्राफिक प्रहरीका २२ जना परिचालन गरिएको सहसंयोजक पौडेलले जानकारी गराए ।
तराईलगायतका क्षेत्रमा भइरहेका बन्द हडतालका बाबजुत पनि ती क्षेत्रबाट समेत दर्शनार्थी गोदावरी मेलामा सहभागी हुन आएका छन् ।
अत्यधिक दर्शनार्थीका कारण गोदावरी क्षेत्रमा व्यापार व्यवसाय पनि उत्साहजन रुपमा बढ्नुका साथै स्थानीय उत्पादनले बजार पाउँदा मेला स्थानीयवासीका लागि बरदान सावित भएको छ ।
मेला परिसरमा मूल आयोजक समितिले उपलब्ध गराएका १६५, उक्त क्षेत्रका निजी घरहरूले उपलब्ध गराएका १०० र दियालो डाँडो वन उपभोक्ता समितिलगायतका विभिन्न चार वन उपभोक्ता समितिले उपलब्ध गराएका अन्य गरी लगभग ३०० भन्दा बढी व्यापारिक कक्षबाट व्यापार भइरहेको छ ।
व्यापार व्यवसायका नाममा हुनसक्ने ठगीलाई दृष्टिगत गरी अनुगमन समितिले निरन्तर अनुगमनसमेत गरिरहेको मूल आयोजक समितिले जनाएको छ ।
आगामी भदौ ३१ गतेसम्म चल्ने मेला अवधिभर ४५ लाख दर्शनार्थी मेलामा सहभागी हुने विश्वास लिइएको पौडेलले बताए ।
प्रकाशित मिति:
September 14, 2015