नाकाबन्दी र मधेस आन्दोलनले एसएसली परीक्षा अन्यौलमा
मंसिर १३ काठमाडौं । मधेसी मोर्चाको तीन महिनादेखिको तराई आन्दोलन र भारतले लगाएको नाकाबन्दीले यसवर्षको एसएलसी परीक्षा नै अन्यौलमा पर्ने देखिएको छ ।
मोर्चाको जारी आन्दोलनका कारण बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र सिरहामा गरी करिब १३ लाख विद्यार्थी प्रभावित भएका छन् ।
मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक कृष्ण काप्रीका अनुसार यी जिल्लाबाट झन्डै एक लाखको हाराहारीमा विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुँदै छन् । तर, आन्दोलनले पठनपाठन ठप्प हुँदा परीक्षा के गर्ने भन्ने विषयमा सम्बन्धित पक्ष नै अलमलमा परेको छ ।
तराईका आठ जिल्लाका सरोकारवालाले एसएलसी परीक्षा केही समय पछि सार्न सुझाब दिएका छन् । विद्यालय सञ्चालन नहुनुले एसएलसी परीक्षा कहिले हुन्छ भन्नेबारे अन्यौलता उत्पन्न भएको हो भने तराईमा अझैसम्म निर्वाध रुपमा पठन पाठन सुरु हुन सकेको छैन ।
मधेसीवादी केही दलले लगातार आन्दोलन गर्दा देशभरी नै यसको असर परेको छ । भारतीय नाककाबन्दी थपिँदा अर्थतन्त्र नै धरासायी बनेको छ भने स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा सोझो असर परेको छ ।
विश्वभरबाट नाकाबन्दी खुलाउन दबाब भईरहे पनि भारतले सुन नसुनै गरेर बसेको छ ।
आठ महिना बितिसक्दा पनि विद्यार्थीको हातमा किताब पुगेन
रासस
जाजरकोट १३ मङ्सिर । यहाँको साल्मा गाविसमा रहेको एक विद्यालयमा आठ महिनासम्म पनि पाठ्यपुस्तक नहुँदा विद्यार्थी मर्कामा परेका छन् । दुर्गम साल्मा गाविसको इन्द्रज्योति माध्यमिक विद्यालयमा आठ महिना बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् ।
उक्त विद्यालयमा कक्षा ८ मा अध्यनरत १५० र कक्षा १० मा १२० जना अध्ययनरत छात्रछात्राले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन् । जिल्ला शिक्षा कार्यालयबाट पाठ्यपुस्तक खरिदका लागि जिम्मा लिएका पुस्तक विक्रेताको लापर्बाहीका कारण यस्तो समस्या आएको शिक्षकले बताएका छन् ।
अभिभावक मीना बुढाले पाठ्यपुस्तक पनि नभएको र पाठ्यपुस्तकको पैसा पनि हालसम्म विद्यालयले विद्यार्थीलाई नदिएको गुनासो गरे ।
यता जिल्ला शिक्षा कार्यालयले पाठ्यपुस्तकको पूरै रकम विद्यालयको खातामा हालिसकेको बताएको छ ।
अर्का अभिभावक तुलसरी परियारले विद्यालयमा गएर बुझ्दा केही शिक्षकले किताब ल्याएका छौं बीचबाटोमा छ ल्याएर वितरण गर्छौं भन्नुभएको थियो अहिलेसम्म दिनुभएको छैन किताब कहाँ छन् हामी सोझासिधालाई किन झुक्याइन्छ उनको भनाइ थियो ।
साल्माका इन्द्रज्योति माध्यमिक विद्यालयमा छात्रवृत्तिको दुई वर्षसम्मको पैसा नपाएको गुनासो अभिभावक विद्यार्थीले गर्ने गरेका छन् ।
प्रकाशित मिति:
November 29, 2015