भारतले छिमेकीको घाँटी निमोठ्यो : नेता नेपाल
गाईघाट ११ मङ्सिर । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले परापूर्व कालदेखिको छिमेकी देश भएर पनि भारतले अमानवीय तरिकाले नेपालको घाँटी निमोठेको बताएका छन् ।
पूर्वको सुनसरीको चतरा–उदयपुर–कटारी–सिन्धुली हुँदै राजधानी काठमाडौं जोड्ने वैकल्पिक राजमार्गको अनुगमन गर्न शुक्रबार उदयपुर पुगेका नेता नेपालले प्रेस चौतारी उदयपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा भने – “अहिले नेपालीले राम्रो संविधान बनाएबापत घनिष्ट मित्र भनिने छिमेकी भारतले उपहारस्वरुप घाँटी निमोठेको छ । यो नै सबैभन्दा ठूलो विडम्बना हो ।”
आफूहरु हिन्दूहरु भएको दाबा गर्ने भारतीय सरकारले अधिकांश हिन्दू नेपाली बसोबास गरेको नेपालमा सीमा नाका बन्द गरेर आर्थिक रुपमा घाँटी निमोठेको नेता नेपालको भनाइ थियो ।
नेता नेपालले भने– “अहिले नेपालमा सबैले संविधानमा बराबरी अधिकार पाए पनि सबैभन्दा बढी अधिकार मधेसीले पाएका छन् । छुट्टै मधेस प्रदेश पनि मधेसीले नै पाएका छन् ।”
अहिले संयुक्त मधेसी मोर्चाले आन्दोलन छाडेर वार्ताबाट समस्याको समाधान खोज्न पहल गर्नुपर्नेमा नेता नेपालको जोड थियो ।
प्रकाशित मिति:
November 27, 2015