इन्धन अभावका कारण चिलिमेका चार आयोजना ठप्प
अप्सरा गौतम
पुस । सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनालाई सहजरुपमा इन्धन उपलब्ध गराउने बताए पनि मुलुकको नमुना परियोजनाका रुपमा रहेको चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतका आयोजना इन्धन अभावका कारण समस्यामा परेका छन् ।
पुस । सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनालाई सहजरुपमा इन्धन उपलब्ध गराउने बताए पनि मुलुकको नमुना परियोजनाका रुपमा रहेको चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतका आयोजना इन्धन अभावका कारण समस्यामा परेका छन् ।

आयोजना प्रमुखका अनुसार सान्जेनका दुईवटै आयोजनालाई सातामा ६ हजार लिटर इन्धन आवश्यक पर्दछ । रसुवागढी र मध्य भोटेकोसीलाई सातामा १२ हजार लिटर इन्धन जरुरत पर्दछ । ऊर्जा मन्त्रालयले इन्धन उपलब्ध गराइदिन आपूर्ति मन्त्रालयलाई पटक–पटक आग्रह गरे पनि ती आयोजनाले माग गरेअनुसारको इन्धन प्राप्त गर्न सकेका छैनन् । आपूर्ति मन्त्रालयले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनालाई नेपाल आयल निगमको थानकोट डिपोबाट इन्धन उपलब्ध गराउन निर्देशन दिएको थियो । तर निर्देशनअनुसार ती आयोजनाले गत कात्तिकदेखि इन्धन पाएका छैनन् ।
भारतले अघोषितरुपमा नाकाबन्दी गरेपछि इन्धन आयातमा कठिनाइ भएपछि सुरुङ निर्माणको काम प्रभावित भएको र भण्डारण गरिएको इन्धन पनि सकिएपछि निर्माण पूर्णरुपमा ठप्प भएको आयोजनाले जनाएको छ । सिमेन्ट, रडलगायतका सामग्री रोकिएका छन् भने सुरुङ निर्माण तथा अन्य भौतिक निर्माणको कामसमेत प्रभावित भएको सान्जेन जलविद्युत् आयोजनाका प्रमुख गिरिराज अधिकारीले बताउनुभयो ।
भूकम्पपछि गत असार १९ गतेबाट निर्माण सुरु भएको माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजनाको काम गत असोज २६ गतेदेखि ठप्प छ । “इन्धन अभावका कारण काम रोक्नु परेको छ,” अधिकारीले रासससँग भन्नुभयो, ‘‘भूकम्पपछि थोरै समय मात्र रोकिएको आयोजना इन्धन सङ्कटका कारण रोकिँदा थप समस्या भएको छ ।”
सान्जनेका दुईवटा आयोजना निर्माणका क्रममा रहेका छन् । माथिल्लो सान्जेनको क्षमता १८.८ मेगावाट तथा सान्जेनको क्षमता ४२.५ मेगावाट रहेको छ । विसं २०७४ को साउन भदौसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ती दुई आयोजना भूकम्प र इन्धन अभावका कारण डेढ वर्षपछाडि धकेलिएको आयोजना प्रमुख अधिकारीको भनाइ छ । तीमध्ये माथिल्लो सान्जेन तुदी निर्माण कम्पनी र भारतीय निर्माण कम्पनीको संयुक्त उपक्रम तथा सान्जेन बज्रगुरु निर्माण कम्पनी र भारतीय उपक्रमले निर्माण गरिरहेको छ ।
दुई आयोजनाको कुल लागत रु सात अर्ब २४ करोड रहेको छ भने इन्धन अभाव र भूकम्पका कारण लागत बढ्ने देखिएको छ । “कति लागत बढ्छ भन्नेमा अहिले नै भन्न सकिन्न” उहाँले भन्नुभयो । माथिल्लो सान्जेनको कुल दुई हजार १०० मिटर सुरुङमध्ये भूकम्पअघि ९२५ मिटर सम्पन्न भएको थियो भने सान्जेनको पाँच हजार २०० मिटर सुरुङमध्ये ७१० मिटर सकिएको अधिकारीले जानकारी दिनुभयो । सान्जेन खोलाको पानीमा रसुवाको तिलुचे बगरमा बाँध बाँधी एक हजार ४०० मिटर लामो सुरुङ र ४८० मिटर लामो पेनस्टक पाइपबाट १८.८ मेगावाट विद्युत् निकाल्ने योजना छ ।
सोही विद्युत् गृहबाट निस्केको पानी एवम् सिम्बुको खोलामा रहेको पानीलाई मिसाई तीन हजार ६०० मिटर लामो सुरुङ एवम् एक हजार १२० मिटर पेनस्टक पाइपको सहायताले ४२.५ मेगावाट विद्युत् सान्जनेको नाममा निकालिनेछ । हाल आयोजनाको काम लगभग पचास प्रतिशत जति सम्पन्न भएको छ । दुई आयोजनाको गरी कुल ५७.३ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
समस्यामा रसुवागढी
यस्तै चिलिमे जलविद्युत् कम्पनीले नै निर्माण गरिरहेको अर्को महत्वपूर्ण आयोजना रसुवागढीको काम भूकम्पपछि ठप्प रहेको छ । कुल १११ मेगावाट क्षमताको सो आयोजना रसुवाको थुमन र टिमुरे गाविसमा पर्दछ ।
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमामा निर्माण गरिएको सो आयोजनाको सबै संरचना भूमिगत रहेको छ । तिब्बततर्फबाट प्रवाह हुने भोटेकोसी नदीमा बाँध बाँधी चार हजार २०० मिटर लामो हेडेरस सुरुङ एवम् ३१३ मिटर लामो पेनस्टक पाइपको सहायताले तातोपानी भिरभित्र विद्युत् उत्पादन गरिनेछ । भूकम्पअघि सो आयोजनाको करिब तीन हजार मिटर सुरुङ निर्माण भइसकेको थियो ।
रसुवागढी जलविद्युत् आयोजनाका प्रबन्ध सञ्चालक माधवप्रसाद कोइरालाका अनुसार आयोजना सहजरुपमा सञ्चालनमा ल्याउन सातामा ६ हजार लिटर इन्धन आवश्यक पर्दछ । भूकम्पमा परी चिनियाँ नागरिक दुई जनाको मृत्यु तथा १९ घाइते भएका थिए । रु १५ अर्ब लागतको सो आयोजना भूकम्प र नाकाबन्दीका कारण दुई वर्ष ढिला हुने भएको छ । ‘‘निर्माण सामग्री र मजदुर निर्माणस्थलमा नहुनु नै प्रमुख समस्या भयो, भूकम्पअघि २५ प्रतिशत कार्यप्रगति भएको थियो । हाल अवस्था शून्यप्रायः छ’’ कोइरालाले भन्नुभयो ।
मध्यभोटेकोसी आयोजनाका प्रमुख डा सुनिलकुमार लामा इन्धन अभावका कारण आफूहरु पनि समस्यामा परेको बताउनुहुन्छ । सिन्धुपाल्चोकमा आयोजनास्थल रहेको सो परियोजनाको क्षमता १०१ मेगावाट रहेको छ भने आयोजनालाई सातामा १२ हजार लिटर इन्धन आवश्यक पर्छ ।
समस्या प्रसारण लाइनकै
भूकम्पका कारण चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेका चारवटा आयोजना समयमै सम्पन्न भए पनि प्रसारण लाइन निर्माणमा अवरोध कायम रहेका कारण विद्युत् खेर जाने अवस्था रहेको छ ।
सान्जेन आयोजनाका प्रमुख अधिकारीकाअनुसार चिलिमे सबस्टेसनसम्म जोड्ने प्रसारण लाइन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले पहल गरेको छैन । हाल चिलिमेले उत्पादन गरेको २२ मेगावाट ६६ केभी क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । तर सान्जेन, माथिल्लो सान्जेन, रसुवागढी लगायतका अन्य आयोजनाबाट उत्पादन हुने विद्युत् प्रसारण गर्न कम्तीमा पनि २२० केभी क्षमताको प्रसारण लाइन आवश्यक पर्छ । रमेश लम्साल/रासस
प्रकाशित मिति:
January 12, 2016