प्राधिकरणका सिइओलाई सरकारको स्पष्टिकरण किन ?
![]() |
सिइअाे ज्ञवाली |
काठमाडौं १५ पुस । सरकारले पुननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सिइअाे) सुशिल ज्ञवालीलाई स्पष्टिकरण सोधेको छ । स्पष्टिकरण सोधेसँगै सरकारले उनलाई हटाउन लागेको हो त भनेर प्रश्न समेत उठेको छ ।
ज्ञवाली केपी ओली सरकारको नेतृत्वको समयमा १० पुस २०७२ मा प्राधिकरणको सिइओमा नियुक्त भएका थिए । १९ साउन २०७३ मा पुष्पकमल दाहाल नेतृत्वको सरकार गठनसँगै उनलाई हटाउने चर्चा गरिए पनि सरकारले उनलाई हटाउने पहल भने गरेको थिएन । पछिल्लो पटक भने प्रधानमन्त्री कार्यालय सिइओ ज्ञवालीसँग धेरै नै रुष्ट बनेको थियो ।
प्रधानमन्त्रीको निर्देशन समेत नमानेको र सरकारको स्पिरिडमा काम नगरेको भन्दै यसअघिकै मन्त्रीपरिषद बैठकमा ज्ञवालीले सरकारलाई असहयोग गरेको भनेर छलफल चलेको थियो । त्यसलगत्तै १४ पुस बिहीबार बसेको मन्त्रीपरिषद बैठकले उनलाई स्पष्टिकरण सोधेको हो । सरकार एक मन्त्रीले अघिल्लै बैठकमा उनलाई स्पष्टिकरण सोध्ने विषयमा छलफल भएको भन्दै उनले सन्तोषजनक काम गर्न नसकेको बताए । मन्त्रीपरिषद बैठकबाट स्पष्टिकरण नै सोधिनु र सरकारलाई असहयोग गरेको भन्ने तवरबाट स्पष्टिकरण सोध्नुले सरकारले सिइओ ज्ञवालीले आफूले नै बुझेर राजीनामा दिउन् भन्ने बुझिन्छ । त्यसो त यसअघिका बैठकमा सरकारका विभिन्न मन्त्रीहरुले उनलाई कि राजीनामा दिन वा काम गरेर देखाउन भन्दै आएका थिए । अहिलेको स्पष्टिकरणसँगै अब उनको बिदाईको सुरुवात भन्न सकिने विश्लेषण गर्न थालिएको छ ।
ज्ञवाली सिइओमा नरहने सम्भावना धेरै
प्रधानमन्त्री कार्यालय यसअघि नै सिइओ ज्ञवालीसँग कार्यसम्पादनका विषयमा रुष्ट बन्दै आएको थियो । तर, एमालेको कोटाबाट बनेका सिइओलाई हटाउँदा राजनीतिक वातावरण बिग्रने डरले मात्र सरकारले उनलाई नचलाई काम गर्न दबाब मात्र दिँदै आएको थियो । उनको कार्यशैली चित्त बुझ्दो नभएकै हो, तर एमालेसँगको राजनीतिक वातावरण नबिग्रियोस् भनेर हामीले तपाई राम्रोसँग काम गर्नुस् भनेर रिजल्ट मात्र खोजिरहेका छौं, प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने । उनले अब हटाउने नहटाउनेबारे नबताए पनि उनको कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै उनको स्पष्टिकरण हेरेर सरकारले राजीनामा दिन लगाउने संकेत गरे ।
सिइओ ज्ञवालीको छटपटी
सरकारले बिहीबार बिहान मन्त्रीपरिषद बैठकमार्फत स्पष्टिकरण सोधेसँगै सिइओ ज्ञवालीमा भने छटपटी देखिएको छ । उनले बिहीबार बेलुकी नै विज्ञप्ति निकालेर आफूले व्यवस्थित र राम्रोसँग काम गरिरहेको भनेर प्रेस विज्ञप्ति जारी गरेका थिए । सरकारले उनलाई एक हप्ताभित्र स्पष्टिकरण दिन भनेकोमा उनले समयमै स्पष्टिकरण दिने समेत बताएका थिए ।
को हुन् ज्ञवाली
१० पुस २०७२ मा नियुक्त प्राधिकरणको कार्यकारी अधिकृत पदमा नियुक्त भएका ज्ञवाली पेशाले सिभिल इन्जिनियर हुन् । उनको नियुक्ति गरेकै बेला कनिष्ठलाई कार्यकारी बनाएको भन्दै चर्को विरोध भएको थियो । सोही कारण कतिपय नेपाल सरकार सहसचिवले त प्राधिकरण नै छाडेका थिए । प्राविधिक तथा इन्जिनियरले समेत विरोध गरेका थिए ।
प्रकाशित मिति:
December 30, 2016