आयोगलाई १०० दिन दिने प्रधानमन्त्रीको जनाउ
काठमाडौं १७ माघ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन मिति घोषणका लागि आवश्यक छलफल र परामर्शलाई तिब्र पारेका छन् ।
आज कांग्रेस र मधेसी मोर्चासँग छलफल गरेर यसै हप्ता बस्ने मन्त्रीपरिषदको बैठकबाट निर्वाचन मिति घोषणा गर्ने उनको तयारी छ । सहमति जुटेमा भोलि मंगलबार निर्वाचन मिति घोषणा गर्ने प्रधानमन्त्रीको तयारी छ । आजै सहमति नजुटे पनि यो हप्ता नकटाउने पक्षमा उनी छन् ।
यता, निर्वाचन आयोगले सबै कानुन तयार भईसकेपछि आयोगलाई १२० दिन माग गर्दै आएको छ । तर सरकारले आयोगलाई २० दिन घटाएर १०० दिनमा काम सम्पन्न गर्न आग्रह गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवबीच आइतबार भेटवार्ता भएको थियो । सो भेटमा प्रधानमन्त्रीले सम्भव भए वैशाख अन्तिम साता नत्र जेठ १५ अगाडी नै निर्वाचन गरिने भन्दै १०० दिनमा आयोगलाई आफ्नो तयारी सक्ने गरी काम गर्न र सरकारले त्यसका लागि सबै सहयोग गर्ने बताएका थिए ।
प्रतिउत्तरमा आयुक्त यादवले नसकिने नबताए पनि अलिक सकिन्न कि भन्ने प्रतिक्रिया दिएका थिए । यद्यपी उनले चुनावसम्वन्धी विधेयकहरु पाउनासाथ आयोगले आफ्नो कामलाई तिब्र पार्ने बताएका थिए ।
प्रकाशित मिति:
January 30, 2017