सरकारको सर्जिकल स्ट्राइकमा परेका सिइओ ज्ञवाली गर्दैछन् के ?
काठमाडौं १७ पुस
सरकारले कार्यसम्पादनमा असन्तुष्टि जनाउँदै १४ पुसमा सर्जिकल स्ट्राइककै स्वरुपमा स्पष्टिकरण सोधेका पुननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवाली पद जोगाउनेमा लागेका छन् ।
बिहीबार सरकारले एक हप्ता भित्र स्पष्टिकरण बुझाउन भन्दै मन्त्रीपरिषदबाट निर्णय गरेसँगै उनले सोही दिन विज्ञप्ति जारी गरेर आफूले व्यवस्थित ढंगले काम गरिरहेको भन्दै आफ्नो बचाउमा उत्रिएका थिए ।
पछिल्लो पटक भने ज्ञवाली आफ्नो बचाउका लागि पुनर्निर्माणमा सहयोग गर्ने दातृ निकायहरूको सम्म धाउन थालेका छन् भने आफूले राम्रो काम गरिरहेको भन्दै जागिर जोगाउनका लागि पहल सुरु गरेका छन् । विश्व बैंक, युरोपियन युनियन, चीन, नर्बेजियन दूतावासलगायतका प्रतिनिधिसँग उनले पदमा रही रहनका लागि पहल गरिदिन अनुरोध गर्न थालेका हुन् । उनको कार्यसम्पादनमा सरकारले व्यापक असन्तुष्टि जनाएर स्पष्टिकरण सोधेपनि आपसी सम्बन्धका कारण ज्ञवालीको दातृ निकायसँग भने सम्बन्ध राम्रो रहेको बताइन्छ ।
यता, सरकारले आफूलाई हटाउने तयारीस्वरूप स्पष्टीकरण सोधेको बुझेका ज्ञवालीले आफूनिकट कानुन व्यवसायीहरूसँगको छलफललाई समेत बाक्लो बनाएको स्रोत बताउँछ । ज्ञवालीले राजनीतिक शक्ति केन्द्र समेत धाउन थालेको बताइएको छ । सरकारले उनलाई हटाउने निर्णय नै नगरेपनि सरकारको स्पिरिड अनुसार काम नगरेको र सरकारलाई सहयोग नगरेको भन्दै स्पष्टिकरण सोधेको थियो । स्रोतका अनुसार स्पष्टिकरण चित्त बुझ्दो नभए उनलाई राजीनामा गर्न लगाइनेछ ।
को हुन् ज्ञवाली
१० पुस २०७२ मा नियुक्त प्राधिकरणको कार्यकारी अधिकृत पदमा नियुक्त भएका ज्ञवाली पेशाले सिभिल इन्जिनियर हुन् । उनको नियुक्ति गरेकै बेला कनिष्ठलाई कार्यकारी बनाएको भन्दै चर्को विरोध भएको थियो । सोही कारण कतिपय नेपाल सरकार सहसचिवले त प्राधिकरण नै छाडेका थिए । प्राविधिक तथा इन्जिनियरले समेत विरोध गरेका थिए ।
प्रकाशित मिति:
January 01, 2017