बाबुरामको पार्टी पनि संसदमा
काठमाडौं २ फागुन
व्यवस्थापिका संसदको सदस्य (सांसद) पद त्यागेर नयाँ शक्ति पार्टी खोलेका डा. बाबुराम भट्टराईको पार्टी पनि अब संसदमा देखिने भएको छ ।
भट्टराई संयोजक रहेको नयाँ शक्तिका कुनै नेता सांसदमा निर्वाचित भएर भने संसदमा प्रतिनिधित्व गर्न लागेका हैनन् । नयाँ शक्ति पार्टी नेपाल र गंगा चौधरी सत्गौहाले नेतृत्व गरेको थरुहट पार्टी लोकतान्त्रिकबीच पार्टी एकता भएसँगै नयाँ शक्ति पार्टीको एक सदस्य भएपनि संसदमा प्रतिनिधित्व हुने भएको हो ।
दुई पार्टीबीच सोमबार एकतासँगै एकीकृत पार्टीको नाम नयाँ शक्ति नेपाल नै राख्न दुवै पार्टी सहमत भएका छन् ।
चौधरीले नेतृत्व गरेको पार्टीमा उनी एक मात्र सांसद हुन् भने चौधरी व्यवस्थापिका संसदको विधायन समितिकी सभापति समेत हुन् । नयाँ शक्तिले थारु समुदायका एजेण्डालाई समर्थन गर्ने प्रतिबद्धता जनाएकोले पार्टी एकता गरिएको चौधरीको भनाई छ ।
चौधरीे गोपाल दहितले नेतृत्व गरेको थरुहट तराई पार्टी लोकतान्त्रिककी सांसद थिइन् । केही समयअघि उनले पार्टी अलग गराउँदै नयाँ पार्टी खोलेकी थिइन् ।
प्रकाशित मिति:
February 13, 2017