पुरानै शक्तिहरुले जनताको अधिकार सिंहदरबार केन्द्रित गर्न खोजे : प्रधानमन्त्री
काठमाडौं ३ फागुन
नेकपा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दलले स्थानीय निर्वाचनमा तहको निर्वाचन गर्न नचाहेको भन्दै पुरानै संरचनामा निर्वाचन गराउन खाेजेर जनताको अधिकार खोस्न चाहेको बताएका छन् ।
सत्तासाझेदार दल कांग्रेस र मधेसी मोर्चाले पुरानै संरचना अन्तर्गत स्थानीय निकायको निर्वाचन गराउनुपर्ने अडान राख्दै आएपछि प्रधानमन्त्री प्रचण्डले सार्वजनिक कार्यक्रममा नै पार्टीको नाम उच्चारण नगरी केही शक्तिले जनताको अधिकार सिंहदरबार भन्दा बाहिर जान नदिन पुरानै संरचनामा निर्वाचन गराउन खोजिरहेको भन्दै आक्रोश पोखे ।
उनले अधिकार स्थानीय तहको निर्वाचनमार्फत जनतामा पुर्याउने कि सिंहदरबारमै केन्द्रित गर्न निकायको निर्वाचन गर्ने भन्नेबिच द्धन्द्ध चलिरहेको भन्दै निर्वाचन गर्नु सरकारका लागि च्यालेन्ज भएको समेत बताए ।
‘एकातिर अग्रगमन चाहने पक्षले अधिकार स्थानीय तहमा लैजान चुनाव चाहिरहेको छ, अर्कोतिर पुरानै शक्तिहरु संविधान कार्यान्वयनमा बाधा ल्याएर अधिकार सिंहदरबार केन्द्रित भईराखोस् भन्ने चाहन्छन्’ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले सोमबार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘चुनाव गराएर संविधान कार्यान्वयन गराउनु सरकारका लागि ठूलो चुनौती भएको छ ।’
प्रधानमन्त्री दाहालले देशमा चुनाव चाहने र नचाहनेबिच द्धन्द्ध भईरहेको भन्दै अहिले देश निकै ठूलो वैचारिक र भावनात्मक संघर्षमा रहेको र संविधान कार्यान्वयनको प्रमुख पक्ष ७ माघ २०७४ भित्र तीन वटै निर्वाचन गर्नु रहेको समेत खुलाए ।
प्रचण्डले गाउँपालिका र नगरपालिकालाई पहिलो पटक व्यवस्थापिका, कार्यपालिका तथा आंशिक न्यायापालिको अधिकार दिएको भन्दै स्थानीय तहकै निर्वाचन गरेर संविधान कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिए ।
प्रकाशित मिति:
February 14, 2017