अर्को वर्षसम्म सबै माओवादीहरुको एकता हुन्छ : प्रचण्ड
काठमाडौं २ फागुन । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को वर्षसम्म सबै माओवादीहरुबिच एकता हुने बताएका छन् ।
आइतबार दिउँसो माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको २२ औं जनयुद्ध दिवस कार्यक्रममा बोल्दै प्रचण्डले यो पटक १० माओवादीबिच एकता गरेर २२ औं वार्षिकोत्सव मनाएको र अर्को वर्ष सबै माओवादी धाराहरुबिच एकता हुने दाबी गरे । उनले भने, 'योपटक १० माओवादी धाराको एकता गरेर हामी २२ औं वार्षिकोत्सवमा छौं । तर, यो नै पूर्ण छैन । अर्को वर्षसम्म सबै माओवादी धाराबीच एकता हुन्छ । बाहिर रहेका सच्चा क्रान्तिकारीहरुको एकताको प्रक्रिया पनि अगाडि बढ्छ ।'
प्रचण्डले सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकतावद्ध गर्दै फेरि माओवादी आन्दोलन मुलधारकै रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उनले दक्षिणपन्थी र बामपन्थी अतिवादी प्रवत्तिलाई सधैं सामन्तवाद र साम्राज्यवादले प्रयोग गर्ने गरेको समेत बताए । ‘अतिवादले जहिले पनि जनताको मनोविज्ञानमा खेल्ने प्रयास गर्छ । समाजको वस्तुगत धरातल नाघेर अतिवादले जहिले पनि दायाँ वा बायाँ बाटो हिड्न खोज्छ' उनले भने 'उनीहरुको नियत जे–सुकै होस्, अन्ततः त्यसलाई सामन्तवाद र साम्राज्यवादले प्रयोग गर्छ र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका विरुद्ध परिचालन गर्छ ।’
नेपाली जनयुद्ध विश्व क्रान्तिकै लागि मौलिक भएकोमा जोड दिँदै प्रचण्डले भने, ‘नेपालको जनयुद्ध अरु देशको भन्दा मौलिक छ । हामीले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गको पहिचान र अधिकारको पक्षमा लड्यौं, राष्ट्रिय एकताका निम्ति संघर्षमा होमियौं । जनयुद्धकै बलमा उत्पीडितहरु राज्यसत्ताको अग्रभागमा आए । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय, समावेशी–समानुपातिक जस्ता अधिकार जनयुद्धकै बलमा संस्थागत भए । अहिले हामीले गरेको प्रयोग विश्वकै निम्ति मौलिक हो । यसलाई हामीले वैचारिक संश्लेषण गरेर विश्वस्तरमा नेपाली जनयुद्धको सन्देश प्रवाह गर्नुपर्छ ।’
कार्यक्रममा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेपाली जनयुद्ध विश्व इतिहासमै मौलिक र युगान्तकारी भएको बताउँदै संविधान कार्यान्वयनको प्रक्रियामार्फत् समाजवादको तयारी गरिने बताइन् ।
प्रकाशित मिति:
February 13, 2017