वैशाख १२ को विनाशकारी भूकम्पपछि चीनले गरेको सहयोगमा प्रचण्डले धन्यवाद दिए
काठमाडौँ, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको आर्थिक, सामाजिक विकासले नेपालको आर्थिक सामाजिक विकासमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
बेइजिङस्थित नेपाली दूतावासले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री दाहालले दुई बर्ष अगाडी नेपालमा आएको विनाशकारी भूकम्पपछि चीनले तत्कालै गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै चीन नेपालका लागि असल मित्र र असल साझेदार भएको बताए ।
“हाम्रो सम्बन्ध अटुट रहिआएको छ, हाम्रो सम्बन्ध पञ्चशीलको सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा कायम रहिआएको छ”– उनले भने । आकार र अर्थतन्त्रमा साना ठूला भएपनि चीनसँगको सम्बन्धलाई नेपालले ठूलो महत्व दिएको उनको भनाइ थियो ।
प्रधानमन्त्रीले भने, “मैले एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिएर आएको छु र सो सम्मेलन नेपाल जस्तो देशका लागि फलदायी हुने विश्वास लिएको छु ।”
चीनका उपप्रधानमन्त्री झाङ गाओलीसँगको बोआओमा भएको भेटवार्ताले दुई देशबीचको सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । उनले चीनमा बसिरहेका नेपालीले पनि नेपाल–चीन सम्बन्धलाई बलियो बनाउन सहयोग पुर्याउन सक्ने बताए ।
प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चिनियाँ जनताप्रति नेपाली जनताको ठूलो सद्भाव रहेको बताए ।
चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले प्रधानमन्त्री तथा उहाँको प्रतिनिधिमण्डललाई स्वागत गर्दै यस्ता उच्चस्तरीय नियमित भ्रमणले दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने बताए ।
सो अवसरमा चीन सरकारका उच्च अधिकारी, नेपालका मित्रहरु, चीनस्थित नेपाली समुदाय र नेपालका लागि चीनका पूर्वराजदूतहरु व्यापारी वर्ग तथा बौद्धिक समुदायको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति:
March 25, 2017