बैतडी, १९ वैशाख । सरकारले प्रदेश नं ७ मा वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचन जेठ ३१ गते सारेपछि यहाँका मतदाता निराश भएका छन् । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भन्दै उत्साहित तथा खुसी भएका मतदाता चुनावको मिति एक महिना पछाडि सरेसँगै निराश बनेका हुन् ।
प्रदेश नं १, २, ५ र ७ मा जेठ ३१ गते तथा ३, ४ र ६ मा सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । ७ नं प्रदेशको निर्वाचन जेठ ३१ गते गर्ने निर्णय गरेपछि दुई दशकपछि हुन लागेकोे निर्वाचनमा मतदान गर्न पाउने आशमा बसेका मतदाता फेरि अनिश्चित बनेको भन्दै निराश बनेको दशरथचन्द नगरपालिका–२ देहिमाडौँका सूर्य बोहराले बताउनुभयो ।
कामको सिलसिलामा भारतबाट काम छोडेर घर आएका मतदाता झन् अन्यौलमा परेका छन् । लामो समयको पर्खाइपछि आफ्ना जनप्रतिनिधि चयन गर्ने अवसर गुम्ने हो कि भन्ने चिन्ता लागेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका बलराज भट्टले बताउनुभयो ।
“निर्वाचनका लागि भनेर नै भारतदेखि घर आइयो”, उहाँले भन्नुभयो, “मिति नै सरेपछि अब के गर्ने, चुनाव नै नहुने हो कि भन्ने चिन्ता लागेको छ ।” यहाँका मतदाता मात्रै नभई यहाँका राजनीतिक दलका नेता पनि अन्यौलमा रहेका छन् । सरकारले दोस्रो चरणमा निर्वाचन गर्ने भएपछि गाउँघरमा बढेको चुनावी सरगर्मी एक्कासि घटेको दोगडाकेदार–३ श्रीकोटका वीरसिंह भाटको भनाइ छ ।
निर्वाचनको गतिविधि तीव्र भइरहेका समयमा निर्वाचनको मिति सरेसँगै जिल्लाका ग्रामीण क्षेत्रमा दलको निर्वाचन गतिविधि न्यून देखिन थालेको छ । चुनावको मिति सरेपछि प्रचार–प्रसारमा पनि सुस्तता आएको नेपाली काँगे्रसका जिल्ला सचिव तथा सुर्नया गाउँपालिकाका अध्यक्षका उम्मेदवार वीरबहादुर विष्टले बताउनुभयो । चुनावी प्रचारप्रसारमा जुटिरहेको भएपनि मतदातामा चुनाव हुन्छ कि हँुदैन भन्नेमा अन्यौलता छाएको छ । उहाँले भन्नुभयो, “सरकारले निर्वाचनको मिति सारेपछि मतदाता निराश बनेका छन् ।”
आफ्नो पार्टीले चुनावी गतिविधिलाई कम नगरे पनि सरकारले चुनाव नै नगर्ने हो कि भन्ने आशङ्का जन्माएको एमाले बैतडीका सचिव लीलाधर भट्टले बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले सरकारले चुनावको मिति सार्नुभन्दा पहिले नै बैतडीका दश स्थानीय तहमा उम्मेदवार घोषणा गरिसकेकाले अहिले प्रचारप्रसारमा जुटेको बताउनुभयो । चार नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा एकलाख २४ हजार आठसय २४ जना मतदाता रहेका छन् । रासस
Powered by Blogger.
निर्वाचन पछि सरेकाले मतदाता निराश
प्रकाशित मिति:
May 02, 2017