प्रचण्डले किन भने- 'म चेपुवामा परे'
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू चेपुवामा परेको गुनासो गरेका छन् ।
सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, विपक्षी नेकपा एमाले, तथा मोर्चा घटक दलबिच मंगलबार बालुवाटारमा भएको बैठकमा प्रचण्डले यस्तो बताएका हुन् ।
मोर्चाका नेताहरुले संविधान संशोधन विधेयक पारित नगराएको भन्दै प्रधानमन्त्री दाहालसँग जवाफ मागेका थिए । प्रधानमन्त्री दाहालले आफू संशोधन प्रक्रिया अगाडी बढाउने पक्षमा रहेको भन्दै आफू चेपुवामा परेको गुनासो गरेका थिए । ‘एउटा पक्ष छ जो संशोधन पास नहोस् भन्ने चाहन्छ तर फेल हुने अवस्था देखेमा अघि बढाउ भन्छ तर पास होला जस्तो भए फेरि रोक्न खोज्छ,’ दाहालले बैठकमा भने, ‘अर्कातिर अर्को पक्ष संशोधन पास होस भन्ने चाहन्छ तर फेल होला जस्तो भए फेरि रोक्न खोज्छ, साँच्चै भन्नुपर्दा चेपुवामा छु ।’
प्रचण्डले एमाले र मोर्चाका नेताहरुप्रति केन्द्रित हुँदै आफू चेपुवामा परेको बताएका थिए ।
मोर्चाका नेताहरुले सरकारले संशोधन पारित गराउन वास्ता नगरेको गुनासो गर्दै शंका व्यक्त गरेपछि प्रधानमन्त्रीले संसद खुल्ने बित्तिकै प्रक्रिया अगाडी बढाएर पारित गराउने पनि बताएका थिए । ‘संविधान संशोधन हुनुपर्यो भनेर हामीले राख्यौं’, राष्ट्रिय जनता पार्टी नेपालका नेता मनिष सुमनले भने, ‘ प्रधानमन्त्रीले प्रयास गरिरहेको बताउनुभयो ।’
प्रकाशित मिति:
May 09, 2017