राप्रपा र साना दल एक ढिक्का भए संशोधन पारित: माओवादी
काठमाडौं २६ असार
नेकपा माओवादी केन्द्र संसदीय बोर्डको बैठकले एमाले बाहेकका दल एक ढिक्का भए संशोधन पारित हुने निष्कर्ष निकालेको छ ।
माओवादी केन्द्र संसदीय बोर्डको दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकले राप्रपा एक ढिक्का भएमा र साना दललाई सहमतिमा ल्याउन सफल भए संशोधन पारित हुने निष्कर्ष निकालेको हो ।
माओवादी सांसदहरुले बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) संशोधन फेल भएमा निर्वाचनमा आउने सुनिश्चिताबारे प्रश्न गरेका थिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहालले सरकारमा रहेको र आफ्नो नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विद्येयक पास गराउन लाग्नुपर्ने बताएका थिए ।
दाहालले अब चाँडै विधेयक संसदमा निर्णयार्थ पेश हुने जानकारी समेत गराएका थिए । सांसद रामनारायण बिडारीले वर्तमान राजनीतिक अवस्था, सरकार विस्तार, संविधान संशोधनका विषयमा छलफल भएको बताए ।
बैठकमा अध्यक्ष दाहालले संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने उद्देश्य अनुरुप संशोध अघि बढेको भन्दै संशोधन विद्येयकलाई निर्णयार्थ पेश गरेर राजपा लगायतका असन्तुष्ट दललाई पनि निर्वाचनमा ल्याउनुको बिकल्प नभएको बताएका थिए ।
बैठकमा दाहालले राजपा र एमालेका नेताहरुबिच पनि छलफल भईरहेकाले सहमतिमा नै संशोधन अघि बढ्न सक्ने सम्भावना देखाउँदै एमालेले सहमति नजनाए राप्रपा एक ढिक्का भएमा र केही साना दललाई सहभागी गराएर भएपनि संशोधन पारित गराउनुपर्ने बताएका थिए ।
प्रकाशित मिति:
July 10, 2017