पूर्वसभाषदसहित चार दर्जन नेता माओवादीमा फर्किए
- सबै माओवादी मिले मात्रै परिवर्तन संस्थागत : दाहाल
काठमाडौं २६ असार
पूर्वसभाषद समेत रहेका नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहा सहित चार दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा फर्किएका छन् ।
माओवादी केन्द्र फर्किएका कुशवाहा माओवादी छाडेर सद्भावना पार्टी हुँदै नयाँ शक्तिमा पुगेका थिए ।
पार्टी कार्यालय पेरिसडाँडामा सोमबार दिउँसो आयोजित एक कार्यक्रमका बीच कुशवाहा लगायतका नेताहरुलाई अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवेश गराएका थिए ।
माओवादी केन्द्रमा प्रवेश गर्ने अन्य नेताहरुमा नेकपा (एमाले) का जिल्ला समिति सदस्य एवं पूर्व गाबिस अध्यक्ष गौरीशंकर जयसवाल, नेकपा (बिप्लव समूह) का रौतहट सेक्रेटरी नन्दलाल ठाकुर लगायत रहेका छन् ।
प्रवेश कार्यक्रममा बोल्दै नयाँ शक्तिका केन्द्रीय नेता तथा पूर्वसभासद कुशवाहाले माक्र्सवादी विचार, क्रान्तिकारी सिद्धान्त र जनताप्रतिको जिम्मेवारी भुल्न नसकेर आफू माओवादी केन्द्रमा फर्किएको बताए ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले स्थानीय तहमा माओवादीले जित्दा सुनमा सुगन्ध हुने भन्दै ढिलो वा चाँडो सबै माओवादीहरु एक ठाउँ आएर देशको नेतृत्व लिनुपर्ने बताए ।
‘सबै माओवादी घर फर्किनुको बिकल्प छैन । बाबुरामजी पनि छिट्टै फर्कनुपर्छ, सबै नेता फर्केपछि एक्लै फर्कनुको अर्थ पनि रहँदैन’ दाहालले भने, ‘वैद्यजी, विप्लवजी पनि फर्कनैपर्छ, अन्त जाने कुनै ठाउँ छैन । सबै माओवादी मिलेर मात्रै परिवर्तनलाई संस्थागत गर्न सकिन्छ ।’
दाहालले भर्खरै छवटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको स्मरण गर्दै निर्वाचनमा अपेक्षाअनुसार जित्न नसके पनि माओवादी विचार, राजनीति र एजेण्डाले जितेको दाबी गरे ।
प्रकाशित मिति:
July 10, 2017