प्रतिफल आउने गरी काम गर्न मन्त्री साहको निर्देशन, घुमाउरो कुरा नगर्न चेतावनी
भक्तपुर १८ साउन
सहरी विकास मन्त्री प्रभु साहले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका आयोजना तथा डिभिजन प्रमुखहरुलाई प्रतिफल प्राप्त हुने गरी कार्य गर्न निर्देशन दिएका छन् ।
भक्तपुरको नगरकोटमा बुधबार सुरु भएको आ.व. २०७३/७४ वार्षिक प्रगति समीक्षा तथा आ.व. २०७४/७५ को कार्यक्रम कार्यान्वयन सम्बन्धी गोष्ठिीमा बोल्नुहुँदै मन्त्री साहले यस्तो निर्देशन दिएका हुन् । उनले यस्ता विचार गोष्ठि भेटघाटका लागि मात्र हुन नहुने भन्दै यसले विकासका कार्यमा भइरहेका ढिलासुस्ती रोक्न सफल हुनुपर्ने विश्वास समेत व्यक्त गरे । यस किसिमका विचारगोष्ठि भेटघाट र झारा टार्ने खालको हुने गरेको उल्लेख गर्दै मन्त्री साहले ती बिचार गोष्ठिहरुले जनताको पक्षमा काम गर्न नसक्ने बताए । त्यसैले यो विचार गोष्ठिलाई जनताको पक्षमा हुने गरी छलफल चलाएर एउटा निस्कर्ष निकाल्न र त्यसलाई व्यवहारमा रुपन्तरण गर्न निर्देशन दिए ।
मन्त्री शाहले बदलिँदो परिस्थितिमा चुनौतिहरु रहेको उल्लेख गर्दै सोच र कार्यशैली परिवर्तन गरेमा सफल हुन सकिने बताए । लक्ष्य अनुसारको प्रगति हुन नसकेको उल्लेख गर्दै मन्त्री साहले यस विषयमा समीक्षा आवश्यक रहेको औल्याए । तोकिएकै समयमा कार्यहरु सम्पन्न हुन नसकेको कारण खोज्न आवश्यक भएको उनको जोड थियो । ‘समयमै ठेक्का सम्पन्न नहुनुमा ठेकेदार दोसी छ नै संगै ठेकेदारलाई नियमन गर्ने को हो ? उसको दोस हुने कि नहुने ?’ मन्त्री साहले भने, ‘अब सोलोढोलो र घुमाउरो कुरा गरेर हुदैन ।’
सहरी विकास मन्त्रालयको कार्य प्रकृति बढी समन्वयात्मक हुने भएकाले प्रभावकारी रुपमा समन्वय भए सफलता मिल्ने उनको भनाई रहेको थियो ।
प्रकाशित मिति:
August 02, 2017