१३ सांसद भएको राप्रपाले पार्टी फुटाउँदा २२ पुर्यायो
काठमाडौं २३ साउन
पूर्वपञ्चहरूका दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आठ महिनापछि फेरि दोस्रो पटक फुटेको छ ।
यसअघि डा. प्रकाशचन्द्र लोहनीले पार्टी फुटाएर अलग्गै पार्टी गठन गरिसकेका थिए । पुनः पशुपतिशमशेर राणाको नेतृत्वमा पार्टी विभाजन भएको छ । यतिबेला पार्टी विभाजन भने अलिक रोचक समेत देखिएको छ । पार्टी एकताका क्रममा राणासँग १३ सांसद मात्र थिए । उनले सबै सांसद राप्रपा अध्यक्ष कमल थापालाई सुम्पदैं अध्यक्ष समेत उनैलाई बनाईदिए । तर, आठ महिनापछि पार्टी फुटाउँदा उनले २२ सांसद पु्रयाएका छन् । अर्था १० जना कमल थापाका सांसद समेत राणाले लगेका छन् ।
उक्त नयाँ पार्टीको नाम राप्रपा (प्रजातान्त्रिक) राखिएको छ। पार्टी दर्ताका लागि राणा पक्षले निर्वाचन आयोग र संसद सचिवालय दुवैमा निवेदन दिइसकेको छ।
संसद सचिवालयमा बुझाएको नामावलीमा १९ सांसदको नाम र हस्ताक्षर भएपनि तीन जनाको भने नाम मात्र रहेको छ । राणा पक्षबाट ६४ जना केन्द्रीय सदस्यको नामसहित निवेदन दर्ता गरिएको निर्वाचन आयोग सम्बद्ध स्रोतले बतायो। तीमध्ये २२ जना सांसद रहेको राणा पक्षको दाबी छ।
ती १९ सांसद र ६४ केन्द्रीय सदस्यले आइतबारै निवेदन सनाखत गरेका छन्। आयोगले उनीहरुको नाम प्रमाणीकरण गर्न फेरि बोलाउनेछ। त्यतिबेला नागरिकतासहित प्रमाणीकरणको निम्ति जानुपर्नेछ। राणा पक्षका २२ जना सांसदमध्ये रामकुमार सुब्बा, लीला श्रेष्ठ र राजेश्वरी सिंह भने राजधानीमा नरहेकाले निवेदन सनाखत गर्न नपाएको बताइएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले राणा पक्षबाट दल दर्ताको निम्ति निवेदन दिइएको पुष्टि गरे ।
प्रकाशित मिति:
August 07, 2017