उपत्यका बाहिरी जिल्लाको अनुगमनमा आपूर्ति राज्यमन्त्री सक्रिय
काठमाडौं २० भदौ
आयल निगमको निरीक्षणका क्रममा मन्त्री । |
आपूर्ति राज्य मन्त्री कर्ण बहादुर विक बजार अनुगमनका लागि उपत्यका बाहिरका जिल्लाहरुमा सक्रिय बनेका छन् ।
मन्त्री विक मंगलबार बाँकेको नेपालगञ्ज पुगेर विभिन्न सरकारी कार्यालय तथा पसलहरुमा पुगेर अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मन्त्री विकले उपभोग्य वस्तुको कडा अनुगमन गरी सुलभ र सहज रुपमा आम नागरिकलाई सेवा उपलब्ध गराई गुणस्तरीय उपभोग्य वस्तुका लागि अनुगमन गर्न सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिएका छन् ।
मन्त्री विकले नेपाल आयल निगमको मध्यपश्चिमाञ्चल क्षेत्रिय कार्यालयमा पुगेर अनुगमन गरेका छन् । सो क्रममा उनले मौजुदा ८० प्रतिशत पुर्याउन निर्देशन दिँदै पेट्रोलियम पदार्थ सहज रुपमा पुर्याउन सक्रिय भएर लाग्न निर्देशन दिए । उनले खाद्य संस्थानको अञ्चल कार्यालय डिपो तथा साल्ट ट्रेडिङ अञ्चल कार्यालयमा समेत अनुगमन तथा निरीक्षण गरेका छन् । अनुगमन तथा निरीक्षणका क्रममा खाद्य संस्थानमा मौजुदा वृद्धि गर्न र साल्ट्र ट्रेडिङमा नुन लगायतका सामग्रीको प्याकिङ त्रिपाल मुनि अव्यस्थित तरिकाले भएको भन्दै तत्काल व्यवस्थित गरेर गुणस्तरीय सेवा उत्पादनमा जोड दिए ।
उनले चाडपर्वको अवसरमा मात्रै नभएर नियमित रुपमा अनुगमन गर्न समेत सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका थिए ।
मन्त्री विकले अनुगमन तथा निरीक्षण कार्य नियमित रुपमा जारी रहने बताएका छन् । ‘सर्वसाधरण नठगिउ र उनीहरुले पाउनुपर्ने सेवा सुलभ र सहज रुपमा होस् भनेर अनुगमन गरिएको हो,’ उनले भने । नेपालगन्जमा मंगलबार अनुगमनमा क्रममा एक मासु पसलमा नाप तौल विभागको स्वीकृति बिनाको काटा पाइएपछि जफत समेत गरिएको थियो ।
प्रकाशित मिति:
September 05, 2017