एनसेल लाभकर छली प्रकरण : पहिलेका बिक्रीमा पनि कर छली !
ठूला करदाता कार्यालयले एनसेल बिक्रीमा पहिलेका प्रकरण ब्युताउँदै कर निर्धारण प्रक्रिया अघि बढाएको छ । पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कार्यालयले खोतल्न थालेको हो । हालसम्म १२ पटक किनबेच भइसकेको एनसेलमा विगतमा पनि कर छली भएको आशंका गरिएको हो ।
कर कार्यालय स्रोतका अनुसार १०औं र ११औं पटकको बिक्रीसम्बन्धी अध्ययन पूरा गरी कर छलीका सम्भावित अंकसहित निर्धारण प्रक्रिया अघि बढेको हो । ‘एक सातामा लगातार दुईपटक २०६८ चैत ७ र १६ गते एनसेलको २० प्रतिशत सेयर बिक्री भएको देखिन्छ,’ स्रोतले भन्यो, ‘यो बिक्रीमा ३० करोडभन्दा बढी पुँजीगत लाभकर छली भएको देखिएकाले असुली प्रक्रिया अघि बढाइएको हो ।’
ठूला करदाता कार्यालयले कर निर्धारण प्रक्रियाअन्तर्गत सिनर्जी प्रालिका नाममा गत शनिबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै स्पष्टीकरण मागेको छ । उक्त कम्पनीका लगानीकर्ताको नाम भने त्यसमा खुलाइएको छैन । उक्त सूचनामा पहिलेको बिक्री प्रकरणमा कर निर्धारण हुनु नपर्ने कुनै ठोस सबुत प्रमाण भए १५ दिनभित्र पेस गर्न भनिएको छ । ‘अन्यथा ऐनबमोजिम भई जाने व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।
यो प्रक्रिया सुरु भएपछि सिनर्जी प्रालिसँग सम्बन्धित लगानीकर्ता भने शक्तिकेन्द्रहरूमा कर निर्धारण नगर्न दबाब दिँदै हिँडेको स्रोतको दाबी छ । ‘कर निर्धारणपूर्व अध्ययन गर्न जेकेके एन्ड एसोसिएट्स नामको चार्टर्ड एकाउन्टेन्सी कम्पनीलाई परामर्शदाताका रूपमा नियुक्त गरी उसको र कर अधिकृतहरूको निष्कर्षपछि कर निर्धारण प्रक्रिया अघि बढेको हो,’ एक अधिकारीले भने, ‘अब कर निर्धारण रोक्न कानुनले नै दिँदैन ।’
आय विवरण पेस गर्दा गलत तथ्यांक पेस गरी कर छली गरेको आरोप कम्पनीमाथि छ । ‘सिनर्जी नेपाल प्रालिबाट पेस भएको आर्थिक वर्ष २०६८/६९ को आय विवरणमा समावेश गर्नुपर्ने सबै आय रकम समावेश भएको नपाइएकाले आयकर ऐन २०५८ को दफा १०१ (४) बमोजिम संशोधित कर निर्धारण गर्नुपर्ने भई कार्यालयको पत्र सूचना तामेल गर्न पठाउँदा कम्पनीको कार्यालय कुपन्डोलमा फेला नपरेको र कम्पनीको कर्पोरेट कार्यालय टंगाल, भाटभटेनीमा २०७४/५/१९ गते पत्र बुझाउन जाँदा बुझी नलिएको र कम्पनीको आधिकारिक व्यक्तिसँग सम्पर्क हुन नसकेको हुँदा सिनर्जी नेपाल प्रालिको सूचना कम्पनीको प्रतिनिधिका रूपमा आएका फुर्वा दोर्जे लामालाई मिति २०७४/५/२२ गते बुझाई पठाइएको छ,’ सूचनामा भनिएको छ ।
उक्त सूचना सम्बन्धितलाई हुलाक र इमेलबाट समेत पठाइएको जनाइएको छ । बिक्रेता, क्रेता र उच्च प्रशासक तथा राजनीतिक नेतृत्वसँगको मिलेमतोमा कर छलीको आशंका गरिएको छ । २०५८ असार ७ गते स्थापित सिनर्जी प्रालिमा पहुँचवालाहरूको अप्रत्यक्ष लगानी रहेकाले कर अधिकृतहरूले स्वतन्त्र रूपमा कर असुली गर्न सकिरहेका छैनन् । - कान्तिपुरबाट साभार
प्रकाशित मिति:
September 15, 2017