प्रहरी र नागरिकबीचको सामिप्यतामार्फत समाजलाई सुरक्षित राख्नु : प्रधानमन्त्री
काठमाडौँ, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गतेका लागि तय भएको संघ र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
बैसठ्ठीऔँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उनले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन सफल पार्न प्रहरीले निर्वाह गरेकोे भूमिकाको प्रशंसा गर्दै संघ र प्रदेशको चुनावमा पनि सोही प्रकारले भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।
सीमित स्रोत र साधनका बाबजुद पनि प्रहरीले देशमा शान्ति सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिका सराहनीय रहेको भन्दै प्रधानमन्त्री देउवाले त्यसका लागि राष्ट्रको तर्फबाट उच्च प्रशंसा गर्ने बताए ।
प्रहरी र नागरिकबीचको सामिप्यतामार्फत समाजलाई सुरक्षित राख्न थप सक्रिय भएर लाग्न पनि प्रहरीलाई उनले निर्देशन दिए ।
देशभित्र मात्रै होइन संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएर प्रहरीले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रधानमन्त्रीको भनाइ थियो ।
गृहमन्त्री जनार्दन शर्माले कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरेका प्रहरीको परिवार र घाइते प्रहरीका लागि थप कल्याणकारी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको र त्यसलाई संघीय प्रहरी ऐनमै समावेश गर्न लागिएको जानकारी दिए ।
प्रहरीको कामको मूल्यांकन गर्ने निकाय जनता नै हुन् भन्दै उनले रचनात्मक, व्यावसायिक र जनताप्रति समर्पित प्रहरी आजको आवश्यकता भएको उल्लेख गरे ।
प्रकाशित मिति:
October 13, 2017