५३ लाख समानुपातिक मत गन्दा एमालेलाई ४३, कांग्रेसलाई ४१ र माओवादीलाई १७ सिट
काठमाडौं २७ मंसिर
गत १० र २१ मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फको १६५ मध्ये १६४ स्थानको मतपरिणाम सार्वजनिक भईसकेको छ भने समानुपातिकतर्फको मतगणना धमाधम जारी छ ।
बुधबार बिहान करिब १० बजेसम्म देशभर प्रतिनिधिसभातर्फ करिब ५३ लाख मतगणना सम्पन्न भएको छ ।
जस अनुसार नेकपा एमालेले करिब १९ लाख, नेपाली कांग्रेस करिब १८ लाख, नेकपा माओवादी केन्द्रले करिब साढे ७ लाख मत पाएका छन् । यस्तै फोरम नेपाल र राजपा नेपालले पनि अहिलेसम्मको मतगणना अनुसार ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका छन् ।
अहिलेको मतपरिणाम नै अन्तिम मतपरिणाम हुन्थ्याे भने समानुपातिकको ११० सिट मध्ये एभरेजमा एमालेको भागमा ४३ सिट, कांग्रेसलाई ४१, माओवादी केन्द्रलाई १७ सिट पर्न जाने देखिन्छ । तीन प्रतिशत कटाएकाले संघीय फोरम र राजपाकाे भागमा पनि सिट पर्ने देखिन्छ । अन्य दलले ३ प्रतिशत नकटाएकाले उनीहरुको सिट भाडफाडमा नपर्ने देखिएको छ ।
तर, क्योसेन्ट प्रणालीबाट समानुपातिक सिट संख्या भाडभाड गर्ने भएकाले दलहरुले अहिलेको मतलाई दोब्बर बनाएमा सिट पनि दोब्बर भने हुँदैन । यस्तै, मत गणना जारी रहेकाले अन्य दलले पनि ३ प्रतिशत पुर्याउन सक्ने सम्भावना समेत छ भने जम्मा सदर मतमा ३ प्रतिशत पुर्याउनुपर्ने भएकाले अहिले ३ प्रतिशत आसपास मत पुर्याएका दलले जम्मा मत बढ्दै जाँदा उनीहरुको मत बढाउन नसकेमा उनीहरु समेत थ्रेसहोल्ड कटाउन नसक्ने समेत हुनसक्छ ।
समानुपातिकतर्फ जम्मा खसेको मत भन्दा पनि गनिएको मतमध्ये सदन मतको ३ प्रतिशत नल्याउने दलको मत नै गनिने छैन । त्यसो हुँदा यसको संख्या भने अन्य दललाई थपिन जान्छ । तर मत नै थपिने छैन ।
प्रकाशित मिति:
December 13, 2017