५ बुँदे सहमतिपछि डाक्टर केसीले अनशन तोडे
पौष २९ काठमाडौँ
प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको मागसहित सोमबारदेखि आमरण अनसन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीले शनिवार अनशन तोडेका छन्। सरकारसँग शुक्रबार राति पाँचबुँदे सहमति भएपछि डा केसीले महाराजगन्जस्थित शिक्षण अस्पतालमा अनशन तोडेका हुन्।
उनीसंग स्वास्थ्यमन्त्री दीपक बोहरा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वणिम वाग्ले सम्मिलित टोली र डा केसीका पक्षका अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह, डा सुमन आचार्यको टोलीले वार्ता गरी पाँच बुँदे सहमति गरेको थियो ।
अनसन तोडेपछि संचारकर्मीसंग प्रतिक्रिया दिदै उनले अन्तिम अवस्थासम्म पनि चिकित्सा क्षेत्रको सुधार, न्याय र भ्रष्टाचार मुक्त समाजका लागि लडिरहने प्रतिक्रिया दिए । डा केसीका सहयोगी डा अभिषेकराज सिंहले डां केसीले चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, सर्वोच्च अदालतको आदेशअनुसार आइओएमका डीनमा प्राडा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिनेलगायत पाँचबुँदे सहमति भएको जानकारी दिएका छन्।
सर्वोच्चका प्रधानन्यायाधीशमाथि सर्वोच्च अदालतकै फैसलाले छानविनको दायरामा ल्याएकाले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने उनको तर्क थियो । प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए आफू पुनःसत्याग्रह आन्दोलनमा बस्ने चेतावनी दिए ।
प्रकाशित मिति:
January 13, 2018