पक्राउ पुर्जी काटिएका नवराज सिलवालको के हुन्छ सांसद पद ?
काठमाडौं १९ पुस
नेपाल प्रहरीका पूर्वडिआइजी तथा एमालेका तर्फबाट ललितपुरबाट निर्वाचित सांसद नवराज सिलवालविरुद्ध प्रहरीले पक्राउ पुर्जी काटेको छ ।
आइजिपी बढुवाका क्रममा आवश्यक कार्यसम्पादन मूल्यांकन (कासमू) नम्बर किर्ते गरेको पाइएपछि उनलाई पक्राउ गर्न पुर्जी काटिएको हो ।
सिलवाल भने अहिले नेपाल बाहिर छन् । तर उनलाई पक्राउ पुर्जी जारी गरिएपछि उनको पद के हुन्छ भनेर चासोका साथ हेरिएको पाइएको छ ।
कानुनविद्का अनुसार सिलवालको सांसद पद प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेकै आधारमा जाँदैन। यसका लागि अदालतमा मुद्दा दर्ता हुनुपर्छ। अधिवक्ता डा। भीमार्जुन आचार्यले सिलवाल पक्राउ भएलगत्तै सांसद पद नजाने बताए। ‘प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गर्न सक्छ। यही आधारमा सिलवालको सांसद पद जाँदैन। अदालतमा मुद्दा दर्ता भयो भने उनको सांसद पद निलम्बनमा पर्छ,’ उनले भने। अदालतबाट दोषी ठहर नभएमा उनको सांसद पद पुनः फिर्ता हुने आचार्यको भनाइ छ।
प्रहरीका अनुसार सिलवाल जुनसुकै वेला पक्राउ पर्न सक्छन्। आइजिपी बढुवाका क्रममा कासमू किर्ते भएको ठहर गर्दै सर्वोच्च अदालतले आवश्यक अनुसन्धान गर्न सरकारका नाममा आदेश दिएपछि प्रहरी परिसर काठमाडौंमा ५ पुसमा जाहेरी दर्ता भएको थियो। जाहेरीलगत्तै प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको थियो। जाहेरी दर्ताको १३ दिनपछि प्रहरीले सिलवालविरुद्ध पक्राउ पुर्जी काटेको हो।
प्रकाशित मिति:
January 03, 2018