आजदेखि खुल्यो प्रभु बैंकको ४० प्रतिशत हकप्रद बिक्री
प्रभू बैंक लिमिटेडले ४० प्रतिशत हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । बैंकले १० बराबर ४ को रेसियोमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यका दरले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि फागुन १३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
हाल बैंकको चुक्तापूँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब २३ करोड ३९ लाख पुग्नेछ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकले २५ करोड ७ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति:
January 21, 2018