असार १४ – स्पेन र पोर्चुगलबीच गएराति भएको फाइनल प्रवेशको भिडन्तमा पोर्चुगलले स्पेनलाई निर्धारित ९० मिनेटमा कुनै पनि गोल हान्न दिएन । त्यस्तै निर्धारित समयपछि पनि थपिएको समयमा समेत दुवै टिम गोलरहित बराबरीमा खेलिरहे ।
अन्तत: निर्धारित ९० मिनेट र त्यसपछि थपिएको समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि निर्णायक फैसलाका लागि पेनाल्टी सुटआउट हुन पुग्यो ।
त्यसपछि भने डिफेन्डिङ च्याम्पियन स्पेनले क्रिस्टियानो रोनाल्डो सहभागी टिम पोर्चुगललाई पेनाल्टी सुट आउटबाट फाइनल प्रवेशका लागि ढोका नै बन्द गरिदियो ।
यसर्थ हेर्दा गएरातिको खेलमा पोर्चुगलले स्पेनलाई रोक्ने योजनामा असफल भएको छ । तर निर्धारित समय र थपिएको समयसम्म भने उसको योजना सफल भएको थियो ।
पेनाल्टी सुट आउटमा स्पेनले पोर्चुगललाई ४-२ ले हराएपछि स्पेन भने पहिलो फाइनल प्रवेश गर्ने टोलि बनेको छ ।
पहिलो पेनाल्टी दुवै गोलकिपरले रोक्दा दर्शक निकै रोमाञ्चक बन्न पुगे। तर भाग्यको साथ पूरापूर स्पेनलाई रह्यो । पोर्चुगलको एउटा पेनाल्टी किक पोलमा ठोक्किएर बाहिर गयो भने स्पेनको अर्को एक पेनाल्टी किक त्यही पोलमा ठोक्किएर बल जाली चुम्न पुग्यो । यसरी १ सय ३३ मिनेट लामो खेलमा स्पेन सौभाग्यपूर्ण रुपमा विजय बन्न सफल भयो । युरोकप फाइनलमा स्पेनको भेट जर्मनी र इटालीबीचको विजेतासँग हुनेछ। जर्मनी र इटालीबीचको खेल आजै राति नेपाली समय अनुसार साढे १२ बजे हुनेछ ।