मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउन गरेको दबाब र आन्दोलनका कारण अन्ततः धेरै थोरै जे जति दिनका लागि भएपनि हिन्दी तथा अंग्रेजी चलचित्र नचल्ने भएका छन् ।
चलचित्र प्रदर्शकको छाता संगठन नेपाल चलचित्र संघले सोमबारदेखि देशभरका हलहरुमा हिन्दी तथा अंग्रेजी चलचित्रहरु प्रदर्शनमा रोक लगाउने भएको हो ।
माओवादी र संघका पदाधिकारीबचि भएको वार्तामा उक्त चलचित्रहरु नलगाउने सहमति भएको छ । तर के के बुँदामा र कसरी सहमति भयो भन्ने बारे खुलाइएको छैन । सोही विषयमा सहमतिको विस्तृत विवरण संघले आज पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ ।
नेपालीलाई गालीगलौज गरिएका, अश्लीलतापूर्ण तथा नेपालका विषयमा भ्रमपूर्ण सन्देश फैलाउने खालका चलचित्र रोक्ने तयारी मात्र गरिएको बताउदै माओवादीले अहिले हिन्दी र अंग्रेजी पूरै चलचित्र प्रदर्शनमा रोक लगाउने भएको हो ।
नेपालमा प्रदर्शन गर्न उपयुक्त भएरनभएको जाँच गर्ने मापदण्ड एवं संयन्त्र तयार नहुन्जेल सबै चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय माओवादीले गरेको छ ।
नेकपा–माओवादीले दुई महिनासम्म चलचित्र प्रर्दशनमा रोक लगाउन आग्रह गरे पनि संघले पाँच दिन मात्र नचलाइने बताएको बुझिएको छ ।
माओवादीले बुधबारदेखि नै हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेपनि हलहरुले भने शनिबारसम्म प्रदर्शन गरिरहेका थिए ।