जीप दुर्घटनामा ६ को मृत्यु, ३ जना घाइते
असोज १० – शालिग्राम गाविसमा गए राति ९ बजे यात्रुवाहक जिप दुर्घटनामा छ जनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन् ।
स्याङ्जाको वालिङबाट पर्वतको उरामपोखरा गाविसतर्फ जाँदै गरेको ग १ ज ४६७९ नम्बरको जिप मङ्गलबार राति शालिग्राम गाविस वडा नं २ दरौखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा सबै उरामपोखरा गाविसका छन् । उरामपोखरा गाविस–६ का ६८ वर्षीया वसुन्धरा भट्टराई, उरामपोखरा– ५ का ५६ वर्षीय डिल्लीराम भुसाल, वडा नं ४ का ६४ वर्षीय मनबहादुर बस्याल, वडा नं ३ का यामबहादुर थापा, सोही ठाउँकी १८ वर्षीया जितकुमारी थापा र सोही ठाउँकै ७६ वर्षीय भक्तराम रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका तीन यात्रुको वालिङमा उपचार भइरहेको छ ।
रानीपानी हुवास सडकखण्डमा सडकबाट ४०० मिटर तल भिरबाट जिप खसेको हो । उकालोमा जिप पछाडि सरेपछि नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको हो । प्रहरी र स्थानीयवासीले घाइतको उद्धार गरेका थिए । जिपका चालक भने फरार छन् ।
प्रकाशित मिति:
September 26, 2012