नशालु पदार्थ खुवाएर लुटपाट
भदौ २२ – भारतमा मजदुरी गरेर घर फर्कंदै गरेका तीन नेपालीलाई नशालु पदार्थ खुवाएर आज लुटेराहरूले लुटपाट गरेका छन् ।
भारतको नयाँदिल्लीबाट मजदुरी गरी घर फिर्ता हुँदै गरेका कञ्चनपुरका दुई र बैतडीका एक जनालाई नशालु पदार्थ खुवाएर लुटपाट गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक नेत्रप्रसाद भट्टले बताए ।
सँगै आएका एक जना अपरिचित व्यक्तिले भारतको रुद्रपुर नजिक चिसो पेय पदार्थ खान दिएपछि तीनै जना बेहोस भएका थिए ।
प्रहरीका अनुसार तीनै जनासँग रहेको नगद र झोला लुटेराहरूले लिएर गएका छन् ।
भारतीय सीमा क्षेत्र वनवसामा रहेको भारतीय प्रहरीले नशालु पदार्थका कारण बेहोस अवस्थामा रहेका उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
तीनै जनालाई प्रहरीले उपचारार्थ महाकाली अञ्चल अस्पतालमा भर्ना गरेको छ । तीनै जना अहिलेसम्म बेहोस छन् ।
प्रकाशित मिति:
September 07, 2012