मंसिर ११ – तथ्यांक विभागले आज नेपालको राष्ट्रिय जनगणना सार्वजनिक गरेको छ । उक्त जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९२ हजार ५ सय ४ रहेको छ ।
राष्ट्रिय जनगणनामा साक्षरता दर बढेको पनि उल्लेख छ । त्यस्तै राट्रिय जनगणना २०६८ को प्रतिवेदनमा यस पटक पुरुषको तुलनामा महिलाको संख्या वृद्धि भएको उल्लेख गरिएको छ । जस अन्तर्गत महिलाको प्रतिशत ५१ दशमलव ५ तथा पुरुषको ४८ दशमलव ५ रहेको छ ।
तथ्यांकमा उल्लेख भए बमोजिम महिलाको जनसंख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ तथा पुरुष १ करोड २८ लाख ४९ हजार ४१ पुगेको छ ।
१०/१० वर्षमा हुने राष्ट्रिय जनगणना अन्तर्गत २०६८ को प्रतिवेदन आज सिंहदरबारमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विमोचन गरेका थिए ।
प्रतिवेदनमा अन्य ठाउँमा तुलनामा तराईको जनसंख्यामा बढी वृद्धि भएको छ । १० वर्ष अगाडीको तराईमा ४८ प्रतिशत जनसंख्या रहेकोमा अहिले ५० दशमलब २ प्रतिशत पुगेको छ ।
क्षेत्री बढे, ब्राह्मण घटे
देशका प्रमुख १० जातजातिमध्ये अग्रस्थानमा क्षेत्री रहेका छन्। उनीहरुको संख्या झण्डै १ प्रतिशतले बढेर १६.६ प्रतिशत पुगेको छ। पहाडी ब्राह्मणको जनसङ्ख्या भने घटेको छ। २०५८ सालमा १२.७ प्रतिशत रहेकोमा हाल १२.२ प्रतिशत देखिएको छ।
हाल मगर, थारू, तामाङ, नेवार र कामी क्रमशः ७.१, ६.६ र ५.८ प्रतिशतसहित तेस्रो, चौथो र पाँचौं प्रमुख जातजातिहरूको स्थानमा रहेका छन्। सबै भन्दा कम जनसङख्या कुसुण्डा जातिको(२७३ जना मात्र) देखिएको छ।
मातृभाषा बढे, नेपाली मातृभाषी घटे
(नागरिकन्यूज)- देशभित्र अक्सर बसोबास गर्ने व्यक्तिहरूले बोल्ने मातृभाषाको सङ्ख्या १२३ वटा देखिएको छ। विगतको जनगणनामा ९२ वटा मातृभाषाको सङ्ख्या प्राप्त भएको थियो।
गत २०५८ सालको जनगणनामा ४८.६ प्रतिशत व्यक्तिहरूको मातृभाषा नेपाली रहेकोमा हाल मातृभाषाको रुपमा नेपाली भाषा बोल्ने जनसङ्ख्या ४४.६ प्रतिशत देखिएको छ।
नेपालीपछि मातृभाषाको रुपमा बढी बोलिने भाषाहरूमा मैथिली (११.७ प्रतिशत), भोजपुरी (६.० प्रतिशत), थारु (५.८ प्रतिशत), तामाङ (५.१ प्रतिशत) र नेवार (३.२ प्रतिशत) रहेका छन्। बज्जिका ३ प्रतिशत, मगर ३ प्रतिशत र डोटेली ३ प्रतिशत छन्।
यस पटक तराई क्षेत्रमा मैथिली र भोजपुरी बहुल क्षेत्रमा हिन्दी भाषालाई मातृभाषा लेखाउन अभियान चले पनि हिन्दीलाई मातृभाषा मान्नेको संख्या शीर्ष १० भित्र परेको छैन। बरु २.६ प्रतिशतका साथ उर्दु १० नम्बरमा परेको छ।
८० प्रतिशत हिन्दु
देशमा प्रमुख १० धर्म देखिएकोमा सबैभन्दा बढी हिन्दु देखिएका छन्। हिन्दुको संख्या १० वर्षअघि भन्दा बढेको छ। २०५८ सालमा हिन्दु ८०.८ प्रतिशत रहेकोमा यस पटकको जनगणनामा ८१.३ देखिएको छ।
दोस्रो ठूलो संख्या बौद्ध धर्मावलम्बीहरुको छ। कूल जनसंख्याको ९ प्रतिशत बौद्ध छन्। तेस्रोमा इस्लाम (४.४), किरात (३), क्रिश्चियन (१.४) र प्रकृति धर्म मान्ने 0.४ प्रतिशत रहेका छन्।