बैशाख ४, रासस - यस वर्षको नयाँ शैक्षिक वर्ष सुरु भइसकेको छ । शिक्षा मन्त्रालयले उच्च प्राथमिकताका साथ यही वैशाख २ गतेदेखि बालबालिका विद्यालय स्वागत कार्यक्रम सञ्चालन गरिसकेको छ र यो कार्यक्रम वैशाखा १४ गतेसम्म जारी रहनेछ ।
तर विडम्बना विगत वर्षमा जस्तै बालबालिकाले पहिलो दिन नै पाठ्यपुस्तक बेगर नै विद्यालय जानु परेको छ ।
जनक शिक्षा सामग्री केन्द्रले शिक्षा विभागले भनेजति विद्यालय तहका पाठ्यपुस्तक छाप्न नभ्याएपछि बालबालिकाले रित्तो हात विद्यालय जान सुरु गर्नुपरेको मंगलबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।
शिक्षा पत्रकार सञ्जाल (इजोन)द्वारा नयाँ शैक्षिक सत्र सुरु हुनेबित्तिकै किन पाठ्यपुस्तक अभाव भन्ने विषयमा आयोजित कार्यक्रममा शिक्षा विभागका उपमहानिर्देशक राकेश श्रेष्ठले भने, “नयाँ शैक्षिक सत्र सुरु भो तर बालबालिकाको हातमा पूरा सेट पाठ्यपुस्तक हातमा परेको छैन ।”
विभागले गत वर्ष नै नयाँ शैक्षिक सत्र २०७० का लागि दुई करोड ४४ लाख थान पुस्तक कक्षा १ देखि १० सम्मका लागि आवश्यक पर्ने जनक शिक्षा सामग्रीलाई जानकारी दिँदै छाप्न निर्देशनसमेत दिएको थियो ।
तर जनक शिक्षाले हालसम्म एक करोड ७० लाख थान पुस्तक मात्र छाप्न भ्याएको छ । तीमध्ये ९४ लाख थान साझा प्रकाशनलाई वितरणका लागि दिइएको छ भने बाँकी आफ्नै भण्डारमा थन्किएर बसेको छ ।
कार्यक्रममा जनक शिक्षाका महाप्रबन्धक अनिलकुमार झाले वैशाखको अन्तिमसम्ममा शिक्षा विभागको मागअनुरूपको पाठ्यपुस्तक छाप्ने जानकारी दिए ।
विगतमा आर्थिक र कागजको समस्या भएका कारण भनेको समयमा पाठ्यपुस्तक छाप्न नसकेको उनले स्वीकार गरे ।
साझा प्रकाशनका बजार प्रबन्धक केदार खतिवडाले जनक शिक्षाले उपलब्ध गराएजति सबै पाठ्यपुस्तक जिल्ला जिल्लामा पठाइसकेको जानकारी दिए ।
हाल साझा प्रकाशनले आफ्ना ६ हजार एजेन्ट र ९ हजार स्थानीय बिक्रेतामार्फत पाठ्यपुस्तक पु¥याइरहेको छ ।
Powered by Blogger.
नयाँ शैक्षिक वर्षः खै त छापिएको नयाँ पाठ्पुस्तक
प्रकाशित मिति:
April 17, 2013