बैशाख २७, फडिन्द्र अकिञ्चन । पोखरा उपत्यका नगर विकास समितिका नव–नियुक्त अध्यक्ष विष्णुप्रसाद बास्तोला र सदस्यहरुले शुक्रबार पदभार ग्रहण गरेका छन् ।
अध्यक्ष बास्तोला र सदस्यहरुलाई स्वागत गर्न र शुभकामना दिन शुक्रबार विहान कार्यालयको हातामा भीड लागेको थियो । सोही अवसरमा समितिका सदस्यहरु दुर्गाप्रसाद कोईराला, राजबहादुर गुरुङ, बजिरमान श्रेष्ठ र लक्ष्मी अधिकारीले पनि पदभार ग्रहण गरे ।
पदभार ग्रहणपछि बोल्दै नव–नियुक्त अध्यक्ष बास्तोलाले आफ्नो नेतृत्वको नयाँ कमिटीले आर्थिक पारदर्शिता देखाएर काम गर्ने बताए । उनले आफ्नो पहिलो प्राथमिकता पोखरा बसपार्क हुने जानकारी दिए । बास्तोलाले भने–‘मेरो पहिलो प्राथमिकता पोखरामा बसपार्क बन्नुपर्छ ।’
सबैको सहयोगमा पोखरालाई व्यवस्थित शहर बनाउन लागि पर्ने भन्दै उनले निवर्तमान अध्यक्ष जीतबहादुर गुरुङ मामाको कार्यकालमा शुरु भएका राम्रा कामलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
बास्तोला पोखरा उपत्यका नगर विकास समितिको १९औं अध्यक्षको रुपमा दुई वर्षका तेस्रो पटक नियुक्त भएका हुन । नेपाली कांग्रेस कास्कीका उपसभापति समेत रहेका उनले यसअघि वि. स. २०६१ र वि. स. २०६७मा समितिको अध्यक्ष भई कार्य गरी सकेका छन् ।
समितिका सदस्य सचिव किसनसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शाखा अधिकृत डिल्ली ढुंगानाले गरेका थिए ।
Powered by Blogger.
पोखरा उपत्यका नगर विकास समितिमा नयाँ नेतृत्व, पदभार ग्रहण पनि सम्पन्न
प्रकाशित मिति:
May 10, 2013