जेठ २४, रासस । सोलुखुम्बु जिल्लाको अत्यन्तै विकट गाविस छेस्कामस्थित छेस्काम माविमा रहेको बालक्लबले विद्यालय नआउने विद्यार्थीका लागि अनौठो जरिवाना तोकेको छ ।
विद्यालयमा रहेको नवप्रतिभा अगुवा बालक्लबको आजको बैठकले वर्षे बिदा सुरु हुनुअगाडि कोही विद्यार्थी एक दिन विद्यालयमा नआएमा उसले तीनवटा बिरुवा ल्याएर विद्यालय परिषरमा रहेको खाली जग्गामा रोप्नुपर्ने निर्णय गरेको हो ।
बिरुवा रोप्ने बानी गराउनका लागि यस्तो किसिमको काम गर्न लागिएको बालक्लबका अध्यक्ष उद्धवराज कुलुङले जानकारी दिनुभयो । कुलुङका अनुसार अब जो विद्यार्थी विद्यालयमा अनुपस्थित हुन्छन् उनीहरूले भोलिपल्ट बिरुवा ल्याएर रोप्नुपर्छ ।
बालक्लबको आयोजनामा आज विद्यालयमा सल्ला जातका एक सयवटा बिरुवा रोपेपछि सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । यसअघि केही बिरुवा रोपिएको भए पनि विद्यार्थीले नै उखेल्ने गरेको पाइएकोले अब बिरुवा उखेल्नेलाई समेत पुनः तीनवटा बिरुवा रोप्न लगाउने समेत बालक्लबले नियम बनाएको छ ।
त्यस्तै, कसैले बिरुवा रोपेको ठाउँमा गाईवस्तु छाडेर बिरुवा क्षति भएमा प्रतिबोट पाँच सय रुपैयाँ जरिवाना लिने र त्यसबाट दुई सय रुपैयाँ भने गाईवस्तु छाडेको देखेर खबर गर्ने व्यक्तिलाई दिने पनि क्लबले जनाएको छ ।
असार १५ गतेबाट विद्यालयमा वर्षेबिदा हुने भएकाले त्यसबेलासम्म विद्यालयका जो विद्यार्थी अनुपस्थित भए पनि भोलिपल्ट तीन बोटबिरुवा ल्याएर रोप्नैपर्ने बालक्लबले निर्णय गरेको हो ।
बैठकमा बालक्लबका पदाधिकारी, विद्यालयका विद्यार्थी र शिक्षक÷शिक्षिकाहरूको समेत उपस्थिति रहेको थियो । छेस्काम मावि सदरमुकामबाट तीन दिनको पैदल दूरीमा पुगिने विकट स्थानमा रहेको विद्यालय हो ।
Powered by Blogger.
एक दिन विद्यालय नआए तीन बोट बिरुवा जरिवाना
प्रकाशित मिति:
June 07, 2013