पूर्वमन्त्रीसहित २०० जना एमाओवादीमा प्रवेश
असार ११ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विघटित संविधानसभामा जनपक्षीय र परिवर्तनकामी शक्तिहरूको दुई तिहाइ मत नहुँदा जनताको संविधान बन्न नसकेको बताएका छन् ।
उनले आगामी संविधानसभाको निर्वाचनमा नेपाली जनताले पहिचानसहितको सङ्घीयता, सङ्घीयतासहितको संविधानका पक्षपातीहरूलाई पूर्णरूपमा दुई तिहाई मत दिने विश्वास पनि व्यक्त गरे ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनलाई स्वीकार गर्न नसक्ने शक्तिले पहिचानसहितको संविधान बन्न नदिएको र उनीहरू फेरि पनि संविधानसभाको निर्वाचन नहोस् भन्ने पक्षमा भएको बताए ।
कार्यक्रममा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) दत्त समूहका अध्यक्ष नन्दनकुमार दत्तसहित करिब २०० नेता तथा कार्यकर्ता एमाओवादीमा प्रवेश गरेका थिए । दत्तसहित एमाओवादीमा प्रवेश गर्नेहरूमा सो पार्टीमा केन्द्रीय सदस्यहरू राजकुमार साह, शेष अब्दुल, प्राडा फूलकुमार देव र नरेश मेहत्ता रहेका छन् ।
यसैगरी नेपाल मुस्लिम सङ्घका अध्यक्ष कलामुद्दिन कवाडी र महासचिव मोहम्मद रफी आलमलगायत सङ्घका मोरङ्, सुनसरी, महोत्तरी, सर्लाहीलगायतका जिल्लाका अध्यक्षहरू समेत एमाओवादीमा प्रवेश गरेका थिए ।
नवप्रवेशीहरूलाई एमाओवादी अध्यक्ष, उपाध्यक्षद्वय र महासचिवले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
एमाओवादीमा प्रवेश गरेपछि नेता दत्तले मधेसको परिवर्तनको ‘एजेन्डा’लाई संस्थागत गर्न आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए ।
एमाओवादीबाटै मधेसी जनताको मुक्ति हुने बताउँदै उनले मधेसी पार्टीबाट मधेसी जनताले अधिकार पाउन नसक्ने बताए ।
प्रकाशित मिति:
June 25, 2013