जेठ २९ । हिजो सार्वजनिक भएको प्रवेशिका परीक्षाको नतिजा एक दशककै कमजोर भएको प्रति प्रत्येक सर्वसाधारणको चासोको विषय बनेको छ ।
विभिन्न शैक्षिक संस्थाका साथै सर्वसाधारणको जमघट हुने चिया पसलहरूमा समेत यतिबेला शिक्षाको घट्दो स्तरप्रति अभिभावकहरूले गम्भीर चासो दर्शाएका छन् ।
शिक्षाको गुणस्तर बर्सेनि बढ्दै जानुपर्ने भए पनि उल्टो गतिमा खस्कदै जानुले प्रत्येक अभिभावकहरूलाई चिन्तित बनाएको समुदायका लागि विद्यालय अभियान, फर्पिङका महासचिव निरोज श्रेष्ठ बताउछन् ।
“निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयभन्दा सरकारी अनुदानमा सञ्चालित सामुदायिक विद्यालयको शैक्षिकस्तर कमजोर बन्नु शिक्षा क्षेत्रमा भएको लगानी खेर जानु हो”–उनले भने ।
विद्यालयहरूमा भित्रिएको परीक्षामुखी हुने कुप्रवृतिको अन्त्यका साथै विद्यार्थीहरूलाई घोक्नेभन्दा पनि बुझ्ने कसरी बनाउने सम्बन्धमा विद्यालय तथा शिक्षक केन्द्रित हुनुपर्ने अवस्था आएको उनले बताए ।
कत्ति पनि मौलिकता नरहने गरी बढिरहेको घोक्ने वस्तुवादी प्रवृतिको अन्त्य गराउने किसिमको शिक्षा पद्दतिमा जोड दिएमा मात्र पनि क्रमिक रूपमा शिक्षाको गुणस्तरीयता सकारात्मक मार्गमा उन्मुख बन्ने उनको भनाइ छ ।
पछिल्लो समयमा विद्यालयहरूमा भित्रिएको उदार कक्षोन्नति गर्ने प्रवृति पनि शिक्षाको स्तर कमजोर बनाउने कारण भएको हंशबाहिनी उच्च मावि दुलेगौडा–२ तनहुँका शिक्षक ठाकुरप्रसाद खनाल बताउछन् ।
उनका अनुसार विद्यार्थीलाई जति विषय लागे पनि कक्षा चढाइदिने प्रवृतिका साथै कक्षामा अध्ययन मैत्री वातावरण कायम गराउन नसक्नु विद्यालय शिक्षाको गम्भीर समस्या हो ।
राज्यले शिक्षकहरूलाई विभिन्न तालिम तथा गोष्ठीमा सहभागी गराउने गरेको भए पनि कक्षाभित्र अध्ययनप्रति रुचि गराउने किसिमको वातावरण अझै पनि अपेक्षित रूपमा तयार हुन नसकेको खनालले बताए ।
उनले थपे। “कक्षालाई अध्ययनमैत्री बनाउने वातावरणका लागि आवश्यक सामग्री र आधुनिक प्रविधिको व्यवस्थापनका लागि राज्यले गम्भीरताका साथ चासो दिनुपर्ने अवस्था आएको छ ।”
शैक्षिकस्तर खस्कदै जानुमा राज्यका साथै समुदायको पनि विशेष हात हुने अभिभावक शशी शर्मा अर्याल बताउछिन् । समुदायको वातावरणलाई शिक्षा मैत्री बनाउनका लागि समुदायमा क्रियाशील सङ्घसंस्था एवम् स्थानीय निकायको महत्वपूर्ण भूमिका रहनेमा उनले जोड दिए
समयानुकूल रूपमा प्रतिस्पर्धामा उत्रन सक्ने किसिमको जनशक्ति तयार गर्नु वर्तमानको आवश्यकता भएको परिपे्रक्ष्यमा खस्कदै गएको प्रवेशिका परीक्षाको परिणामलाई शिक्षा क्षेत्रसँग सरोकार राख्ने प्रत्येक सङ्घसंस्थाले गम्भीरताका साथ लिनु आवश्यक भएको उनले बताए ।
एसएलसी परीक्षाको नतिजामा यस वर्ष नियमिततर्फ एक लाख ६७ हजार ९३५ जनामात्र उत्तीर्ण भएका छन् । नियमिततर्फ पाँच लाख ११ हजार १६५ जना सहभागी भएकामा उत्तीर्ण भएको यो सङ्ख्या ४१ दशमलव ५७ प्रतिशतमात्र हो ।
यस वर्ष पुरकतर्फ एक लाख सात हजार २२९ विद्यार्थी परीक्षामा सम्मिलित भएकामा आठ हजार ३१८ अर्थात् ७ दशमलव ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । रासस
Powered by Blogger.
एसएलसी परीक्षाको नतिजा न्यूनप्रति चौतर्फी चासो
प्रकाशित मिति:
June 12, 2013