जेठ २५ । लोकतन्त्रको रक्षा तथा साम्राज्यवादको विरोधमा रहेका एसियाली मुलुकका प्रजातान्त्रिक तथा वामपन्थी पार्टीहरूको तीनदिने क्षेत्रीय सम्मेलन आजदेखि राजधानीमा सुरु भएको छ ।
सम्मेलनमा सहभागीहरुले एसियाली मुलुकमा अझै पनि अमेरिकाको साम्राज्यवादी हस्तक्षेपको नीति रहेको, कतिपय मुलुकमा राजतन्त्र र निरङ्कुशता रहेकाले ती मुलुकको समग्र विकास हुन नसकेको जनाएका छन् । यसको विरोधमा यी मुलुकका सबै लोकतन्त्रवादी तथा साम्राज्यवादविरोधी राजनीतिक दल र जनताबीच ऐक्यबद्धता हुनुपर्नेमा सम्मेलनले जोड दिएको छ ।
नेपाल, भारत र बङ्गलादेशका गरी करिब पाँच सयजनाको सहभागिता रहेको सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गरे ।
अध्यक्ष केसीले क्रान्तिकारी आन्दोलनको इतिहास बोकेको तथा पर्याप्त सम्भावना भए पनि साम्राज्यवाद र निरङ्कुशताको निरन्तर सिकार भएका कारण जनताको समाजवादको लक्ष्य पूरा नभएको बताए ।
उनले नेपालमा अहिले पनि भारतीय विस्तारवादको प्रभाव रहेको भन्दै नेपालको जलसम्पदा र उपभोग्य भूभागमा भारतीय हस्तक्षेपको नीतिले नेपालको राष्ट्रियता खतरामा रहेको दाबी गरे ।
अध्यक्ष केसीले नेपालजस्तो सानो र अल्पविकसित मुलुकमा सङ्घीयताको नारा उचाल्दा राष्ट्रियता थप खतरामा पर्ने विचार व्यक्त गरे ।
सम्मेलनको सफलताको कामना गर्दै नेकपा (एमाले) का पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका नेता मनमोहन भट्टराई, नेकपा (माले) का महासचिव सिपी मैनालीलगायतले लोकतान्त्रिक मार्गमा बाधा उत्पन्न गर्ने कुनै पनि प्रकारका अधिनायकवाद तथा विस्तारवादको डटेर विरोध गर्नुपर्ने बताए ।
सम्मेलनमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले एसियाको विद्यमान राजनीतिक अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।
Powered by Blogger.
साम्राज्यवाद विरोधी एसियाली कम्युनिष्टहरु राजधानीमा
प्रकाशित मिति:
June 08, 2013