नक्कली भर्पाइ पेस गरी मरेका मान्छेको भत्ता खाने सप्तरीको जागिर चट
असार २७, रासस । नक्कली भर्पाइ पेस गरी मरेका मान्छेको भत्ता खाने सप्तरीका पाँच गाविसका सचिव तथा प्राविधिक सहायक निलम्बित भएका छन् । मरेका गाउँलेको नाममा सामाजिक सुरक्षा कार्यक्रमको भत्ता खाई अनियमितता गर्ने जण्डौल, ब्रह्मपुर, कोचाबखारी, मानराजा र कञ्चनपुर गाविसका सचिवलाई तीन महिनाका लागि निलम्बन गरिएको जिविस सप्तरीले जानकारी दिएको छ । उनीहरुमाथि दलित र बालबालिकाका कार्यक्रमको बजेटमा समेत अनियमितता गरेको आरोप छ ।
ब्रह्मपुर गाविसका सचिव देवनारायण साहले गाविसको लगत रेकर्डमा मरिसकेका २२ जना व्यक्तिलाई भत्ता वितरण गरेको नक्कली भर्पाइ बनाई पेस गरेपछि उनलाई निलम्बन गरिएको हो । यसैबीच ब्रह्मपुरका ज्येष्ठ नागरिकद्वय देवनाथ यादव र ठकनीदेवी यादवले गाविस सचिव साहले आफूहरुलाई अहिलेसम्म भत्ता नदिई झुठो भर्पाइ बनाई पेस गर्ने गरेको आरोप लगाए ।
बैरबा गाविसमा सचिव रहेका बेला साहले ज्येष्ठ नागरिक, अपाङ्ग तथा एकल महिलालाई रकम नदिई झूठो भर्पाइ पेस गरेको आरोपमा गत वर्र्ष पनि जिविस सप्तरीले निजलाई निलम्बन गरेको थियो । यसैगरी, जण्डौल गाविसका सचिव कृष्णप्रसाद दाहाल र प्राविधिक सहायक रामचरित्र ठाकुरले गत साउन महिनाभन्दा पहिले मरेका स्थानीय १७ जना व्यक्तिलाई दोस्रो चौमासिक भत्ता वितरण गरेको भर्पाइ पेस गरेका थिए ।
यस्तै, कोचाबखारी गाविसका सचिव ताहिर मियाँले छिन्नमस्ता गाविसमा सचिव रहेका बेला गत माघमा दलित र बालबालिकाका लागि निकासा लगेको रु चार लाख चार हजार रुपैयाँ हालसम्म वितरण नगरेकाले निजलाई निलम्बन गरिएको जिविसले जनाएको छ । यसैगरी, मानराजा र बसबलपुर गाविसका सचिव इन्दुलाल चौधरी पनि मानराजाका दलित बालबालिकाका लागि निकासा लिएको रु तीन लाख आठ हजार रुपैयाँ वितरण नगरी अनियमितता गरेको आरोपमा निलम्बनमा परेका छन् ।
यस्तै, कञ्चनपुर गाविसका सचिव प्रेम पुरी पनि पिप्रा पूर्वगाविसमा सचिव रहेको बेला दलित बालबालिकाका लागि निकासा लगेको रु चार लाख ३८ हजार रुपैयाँ हालसम्म वितरण नगरी अनियमितता गरेको आरोपमा तीनमहिने निलम्बनमा परेका छन् ।
प्रकाशित मिति:
July 11, 2013