सूचना विभागकै सूचना गलत
भदौ २ । सूचना विभाग नेपाल सरकारको सूचना प्रवाह गर्ने आधिकारिक निकाय हो । धेरैले संचारसँग सम्बन्धित तथ्यांकहरु लिनु पर्यो भने विभागमै धाउँछन् । तर, सूचना विभागकै सूचना गलत भेटिन थालेको छ ।
सूचना विभागले आफ्नो अनलाईनमा तीन वटा कार्य आफ्ना महत्वपूर्ण काम भनेरै राखेको छ । त्यसमध्ये पहिलो बुँदामा “नेपाल सरकारका काम कारवाहीबारे स्वदेश र विदेशमा सूचना प्रवाह गर्ने’ लेखिएको छ । विभागले हरेक वर्ष मिडिया डाइरेक्टरी प्रकाशित गरेर सम्पूर्ण सरकारी कार्यालयहरुको विवरण, तिनको सम्पर्क नम्बर, संचारमाध्यामहरुको विवरण दिने गर्दछ । विभागले प्रकाशित गरेको ‘मिडिया डाइरेक्टरी २०७०’ केही सूचनाहरु गलत भेटिएका छन् । उक्त डाइरेक्ट्ररी प्रकाशन गर्दा धेरैले सम्पादन, संकलन वा सुद्धासुद्धि हेरेको नाममा पैसा लिएका होलान तर पैसा खाए पनि उक्त डाइरेक्ट्ररी’मा भने धेरै ठाउँमा गल्ती छन् ।
विभागले खासगरी देशभरिमा कति पत्रपत्रिकाहरु दर्ता भएका छन् भन्ने कुरालाई विभिन्न तरिकाले विश्लेषण गरेको छ । जसमा २०६९ चैत्र मसान्तसम्म दर्ता भएका पत्रपत्रिकाको विवरण दिएर तिनलाई भौगोलिक क्षेत्र अनुसार, अञ्चल अनुसार, विकास क्षेत्र अनुसार वर्गिकरण गरेको छ । तर, यी सबैमा उल्लेख गरिएको तथ्यांक फरक फरक छन् । अञ्चल अनुसार गरिएको वर्गिकरणको जम्मा संख्या र विकास क्षेत्र अनुसार गरिएको जम्मा संख्या नै फरक फरक छ । त्यस्तै भौगोलिक क्षेत्र अनुसार देखाइएको दैनिक पत्रिकाको जम्मा संख्या र अञ्चल, विकास क्षेत्रअनुसार छुट्याइएको दैनिक पत्रिकाको जम्मा संख्या फरक छ ।
डाइरेक्ट्ररीमा भौगोलिक क्षेत्रअनुसार दैनिक पत्रिकाहरु पहाडमा २२९, तराईमा १९२ र हिमालमा ६ वटा उल्लेख गरिएको छ । यसो हुँदा जम्मा संख्या ४२७ वटा हुन जान्छ । तर, सोही डाईरेक्ट्ररीमा अञ्चल र विकास क्षेत्र अनुसारभने दैनिक पत्रिकाको जम्मा ५६८ वटा भनेर उल्लेख गरिएको छ । तर, सोही डायरीमा नाम नै उल्लेख गरिएका दैनिक पत्रिकाहरुलाई गन्ती गर्दा भने जम्मा दैनिक पत्रिकाहरुको सङ्ख्या भने २८४ मात्र हुन्छ ।
यसैगरी, अञ्चल अनुसार छुट्याइएको संख्यामा भेरी अञ्चलमा दर्ता भएका जम्मा पत्रिकाहरुको कूल संख्या १२ वटा राखिएको छ । जबकि भेरी अञ्चलको बाँके जिल्लामा मात्रै २१ वटा दैनिक पत्रिका दर्ता भएका छन् । त्यस्तै सुर्खेतमा पनि ११ वटा दैनिक पत्रिकाहरु दर्ता भएका छन् । त्यस्तै सोही डाइरेक्ट्ररीको सुरुको पृष्ठतिर दैलेख जिल्लामा २ वटा र बर्दिया जिल्लामा १ वटा दैनिक पत्रिका दर्ता भएको देखाइएको छ । यसरी भेरी अञ्चलमा दर्ता भएका जम्मा दैनिक पत्रिकाको संख्या ३५ हुन आउछ । तर, पछाडि पत्रिकाहरुको नामसहित दिइएकोमा भेरी अञ्चलमा ४३ वटा दैनिक पत्रिका देखिन्छ । त्यस्तै अञ्चल अनुसार छुट्याइएको दैनिक पत्रिकाहरुको संख्या ३५ वटा छ तर मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा राखिएको तथ्याङ्क अनुसार १२ वटा मात्र संख्या पुग्छ । त्यस्तै पछाडि नामसहित दिइएको संख्या भने राप्ती अञ्चलमा ६ वटा मात्र देखिन्छ । त्यस्तै अगाडि अञ्चलको विश्लेषणमा कर्णालीमा ४ वटा मात्र दैनिक पत्रिका उल्लेख गरिएको छ भने पछाडि नामसहित हुँदा ३ वटा दैनिक पत्रिकाहरु देखिन्छन् । यसरी अगाडि अञ्चलअनुसार देखाइएको दैनिक पत्रिकाहरुको जम्मा संख्या र पछि नाम सहित राखिएको संख्या कुनै पनि अञ्चलको मिल्दैन ।
अन्य थुप्रै विवरणहरु यस्तै फरक फरक देखिन्छन् । थुप्रै ठाउँमा सुद्धासुद्धिका समस्याहरु छन् । यसबारेमा जिज्ञासा राख्दा विभागका एक कर्मचारीले सुरुमा सामान्य प्रिन्ट मिस्टेक भनेर जवाफ दिए । ‘सामान्य एक दुई वटा मिस्टेक त सबैको हुन्छ’ भनिरहेका ती कर्मचारीलाई जब डाइरेक्टरीमा भएका थुप्रै गलत विवरणहरु देखाइयो, उनी अल्लमल्ल परे । त्यसपछि उनी आफूभन्दा माथिल्ला तहका कर्मचारीकहाँ गएर भने, “यसपालीको हाम्रो डाइरेक्टरी त ध्वस्तै भएको रहेछ ।”
प्रकाशित मिति:
August 20, 2013