प्रचण्डको विद्रोह गर्ने चेतावनीका विरुद्ध सर्वोच्चमा मुद्दा
भदौ १० । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध आज सर्वोच्चमा मुद्धा दायर भएको छ ।
गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको अनुसन्धानका लागि दिएको निर्देशनमा प्रचण्डले आफ्नो पार्टीका नेताहरुलाई चुनाव लड्न नदिने षड्यन्त्र भएको भन्दै द्वन्द्वकालको मुद्दा व्यूँताए विद्रोह गर्ने चेतावनी दिएको विषयलाई लिएर उनका विरुद्ध सर्वोच्चमा मुद्धा दायर भएको हो ।
सोही विषयमा केन्द्रित भएर अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्चमा प्रचण्डका विरुद्ध अदालतको अपहेलनाको मुद्दा दायर गरेका हुन् ।
प्रचण्डले अदालतको जात के हो भन्दै सोधेको दावी समेत गरिएको उक्त रिटमा प्रचण्डको उक्त अभिव्यक्तिले अदालतको मर्यादा एवं निष्पक्षता माथी गम्भीर आधात पुग्न गएकोले सर्वोच्च अदालत ऐन, २०४८ को ७ बमोजिम निवेदन दिएको उल्लेख छ ।
अदालतको जात सोधेर अदालतको निष्पक्षता, यसको संवैधानिक भूमिका एवं विश्वसनियतामाथि गम्भीर आघात पुर्याएको भन्दै रिटमा प्रचण्डलाई अदालतमा तत्काल सशरीर उपस्थीत गराई बयान लिएर सर्वोच्च अदालत ऐन, २०४८ को ७ बमोजिम हदै सम्मको सजाय गरी पाऊँ भनि माग गरिएको छ ।
प्रकाशित मिति:
August 26, 2013