भदौ १६ । वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ नेपालीको बर्बरतापूर्वक हत्या भएको आज नौ वर्ष पुरा भएको छ । कामका लागि इराक गएका नेपालीहरुको २०६१ साल भदौ १६ गते सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले घाँटी रेटी विभत्स हत्या गरेको थियो ।
आजकै दिन अर्थात २०६१ सालको भाद्र १६ गते राजधानी विहानैदेखि तनाबग्रस्त बन्न पुग्यो । राजधानीमा बिहानैदेखि आगजनी र तोडफोडका घटनाहरु भए । विशेषगरी वैदेशिक रोजगारसँग सम्बन्धित म्यानपावर कार्यालय र विदेशी सञ्चालकको मातहतमा सञ्चालन भएका नेपाली कार्यालयहरु तोडफोडमा परे । क्रुरतापूर्वक नेपालीको विदेशी भूमिमा हत्या भएपछि त्यसको आक्रोशमा उत्रिएका नेपालीहरुले भाद्र १६ गतेका दिन राजधानी लगायत मुलुकका विभिन्न स्थानमा भएका म्यानपावर लगायतका कार्यलयहरुमा तोडफोड र आगजनी गरेका थिए ।
सोही इराक हत्याको विरोधमा उत्रिएका नेपालीहरुले राजधानीमा रहेका म्यानपावरसहित विदेशी एयरलाइन्स र विदेशीले सञ्चालन गरेका कार्यालयहरु समेतमा आगजनी र तोडफोड गरेका थिए । विरोधमा उत्रिएकाहरुले त्यस्ता कार्यलयका सामानहरु सडकमा ल्याएर जलाएका थिए । ठाउँ ठाउँमा टायर बालेर विरोधकर्ताहरुले नाराबाजी समेत गरेका थिए ।
त्यस्तै विरोध जनाउँदै हिडेको एक समूहले कान्तिपुर पब्लिकेशनको कार्यालय समेतमा तोडफोड गरेका थिए भने मुस्लिम समुदायको मस्जिद सम्मलाई विरोधकर्ताले तारो बनाएका थिए । इराकमा नेपालीको हत्याकाण्ड र राजधानीमा म्यानपावरमाथी अराजक तरिकाले भएको आक्रमणको आज नौ वर्ष पुरा भएको छ । यस दिनलाई वैदेशिक रोजगार व्यवसायी संघ संस्थाले कालो दिनका रुपमा मनाउँदै आएका छन् ।
अवाञ्च्छित तरिकाले म्यानपावरमाथी भएको आक्रमणको विरोधस्वरुप आजको दिन वैदेशिक रोजगार व्यवसायीहरु आफ्ना कार्यालयहरु बन्दगर्दै आएका छन् ।
इराकामा ९ वर्ष अगी आतंककारीको अपहरण गरी १२ नेपालीहरुको हत्या गरीएको घटनालई समाटेर बनाएको फिल्म हिजो भदौ १५ गते सार्वजानीक गरीएको छ । १२ नेपाली एक चिहान नाकम फिल्म घटनाको ठीक नौ वर्षपछि सार्वजनिक गरियो ।