फुजेल हत्याकाण्डमा अधिकारीको तेस्रो पटक म्याद थप
असोज १० । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारीमाथिको अनुसन्धान नसकिएको भन्दै तेस्रो पटक म्याद थप गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले म्याद थपका लागि अदालतमा पेस गरेपछि जिल्ला अदालत चितवनले आज तेस्रो पटक पाँच दिनका लागि म्याद थप आदेश दिएको हो।
अदालतले दिएको १० दिनको म्यादभित्र अनुसन्धान पूरा नभएपछि प्रहरीले पुनः १० दिनका लागि म्याद थप्न गएको भदौ ३१ गते अदालतमा पेस गरेको थियो।
अन्तिम पटकका लागि पाँच दिन म्याद थप गरिएको जिल्ला अदालत चितवनका श्रेस्तेदार दिनबन्धु बरालले जानकारी दिए।
प्रहरीले पाँच दिनभित्र अदालतमा मुद्दा पेस गर्नुपर्ने हुन्छ। अधिकारी हत्या अभियोगमा किटानी जाहेरी परेका अन्य १० जना भने पक्राउ परेका छैनन्।
उता मृतक अधिकारीका आफन्तले भने प्रहरीले खोजी कार्यमा चासो नदेखाएको गुनासो गरेका छन्। कृष्णका बाबु नन्दप्रसाद र आमा गङ्गामाया अधिकारीले लामो समयसम्म आमरण अनशन बसेपछि चौतर्फी दबाबका कारण सरकारले रामप्रसादलाई नियन्त्रणमा लिएको थियो।
उनलाई नियन्त्रणमा लिएलगत्तै अधिकारी दम्पतीले अनशन तोडेका थिए। चितवनको रत्ननगरमा हजूरबुबा र हजूरआमा भेट्न आएका अधिकारीको अपरहणपछि २०६१ जेठ २४ गते हत्या भएको थियो । रासस
प्रकाशित मिति:
September 26, 2013