अंग्रेजी माध्यामबाट पढाई हुन थालेपछि बोडिङ छाडेर सामुदायिक विद्यालयमा
दिप बहादुर घर्ति/जाजरकोट
असोज १० । दीपज्योती ईङलिस बोडिङ स्कुल कोहलपुर बाँकेमा अध्ययनरत विनिता केसी जाजरकोट सदरमुकाम खलंगा स्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा यसै शैक्षिक सत्र देखी ७ कक्षामा भर्ना भईन ।
विनिताका बुवा बुद्धिबहादुर खत्री घर नजिकै अंग्रेजी माध्याममा निशुल्क पढाई हुन थालेपछि छोरीलाई भर्ना गरेको बताउँछन् । त्यस्तै खलंगा २ कि सत्यपहाडी बोहरा पनि बोडङ स्कुल छोडेर सोही विद्यालयको ७ कक्षामा पढन थालेकी छिन् । उनका बुवा चित्रबहादुर बोहरा सामुदायिक विद्यालयमा अंग्रेजी माध्याममा पढाई हुन थालेको र पढाईको बातावरण पनि बालमैत्री भएकोले भर्ना गरेको बताउँछन् । विद्यार्थीहरु पनि बोडिङको भन्दा सामुदायिक विद्यालयमै रमाउन थालेका छन् । कक्षा ६ मा अध्ययनरत स्वेता सिह बोडिङमा जस्तो सरहरुले नपिट्ने भएकोले आफुलाई बोडिङ भन्दा सामुदायिक विद्यालय नै मन परेको बताउँछिन् ।
जिल्लाको एक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई हुन थालेपछि बोडिङ छोडेर विद्यार्थीहरु सो विद्यालयमा आउन थालेको निमित्त प्रधानाध्यापक हेरम्वबहादुर शाह बताउछन् । सो विद्यालयमा गत बर्ष देखि ६ कक्षाबाट अंग्रेजी माध्याममा पढाउन थालिएको हो । यस बर्ष ७ कक्षा सम्म अंग्रेजी माध्याममा पढाई हुन्छ । विद्यालयले प्रत्येक बर्ष अंग्रेजी माध्यामको कक्षा थप्दै जाने जनाएको छ । विद्यालयमा अंग्रेजी माध्याममा पढाउन थालेपछि विद्यार्थी बढेका छन् । उनीहरुमा मिहिनेत गर्ने बानीको विकास भएको छ । उनीहरुको पढाईको स्तर पनि बढेको छ निमित्त प्रधानाध्यापक शाहले भने ।
सामुदायिक विद्यालयमा नेपाली माध्यामबाट पढाईरहेका शिक्षकहरुलाई शुरुशुरुमा केही अफ्ठयारो लागेपनि अचेल सामान्य लाग्न थालेको छ । सामाजिक अध्ययन विषयका शिक्षक गणेश अधिकारी शुरु शुरुमा अंग्रेजी माध्याममा पढाउन केही गाह्रो भएपनि तयारी र मिहिनेत गरेका कारण सहज हुदै गएको बताए । उनले नेपालीमा भन्दा अग्रेजीमा पढाउन सजिलो भएको बताए । उनी विद्यार्थीहरु पनि अंग्रेजी माध्यामबाट पढाउँदा चाख मानेर पढन थालेको बताउँछन् । यस अघि ५० जना भन्दा बढी नहुने ७ कक्षामा अग्रेजी माध्यामबाट पढाउन थालेपछि बढेर ८५ पुगेका छन् । कक्षा ७ मा मात्र २५ जना विद्यार्थी बोडिङबाटै आएका छन् । त्यस्तै ६ कक्षामा पनि ८३ जना विद्यार्थी अध्ययनरत छन् । त्यस मध्य २० जना बोडिङ छाडेर आएका छन् । सरकारी विद्यालयबाट आएका विद्यार्थीलाई शुरुमा केही गाह्रो लागेपनि सवैको प्रयासले उनीहरुमा पनि सुधार आउन थालेको अग्रेजीका अध्यापक रामप्रसाद घर्ती बताउँछन् ।
प्रकाशित मिति:
September 26, 2013