किरणको दस्तावेजमा के भने त विप्लवले ?
मंसिर २५ । नेकपा–माओवादी केन्द्रीय समितिको बैठक २७ गते नै सकिने भनिएपनि आजसम्म लम्बिएको छ ।
बैठकको पहिलो दिन २३ गते १५ जना राज्य समिति इन्चार्जहरुले रिपोर्टिङ गरेका थिए भने दोस्रो दिन अध्यक्ष मोहन वैद्य किरणले ६ पृष्ठ लामो दस्तावेज पेस गरेपछि दस्तावेजमाथि छलफल सुरु भएको हो ।
बैठक बिहीबार सकिने भनिएपनि लम्बिएर आज पनि जारी छ । दस्तावेजमाथि बोल्न बाँकी सदस्यहरुले धारणा राखिसकेपछि केन्द्रिय सदस्यहरुले दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिएर छलफल आज बैठक आज सम्पन्न गराउने गरी छलफल भईरहेको एक नेताले जानकारी दिए ।
अध्यक्ष किरणद्धारा पेस गरिएको ६ पृष्ठ लामो दस्तावेजमा क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउनेमा जोड दिइएको र जनयुद्धको जगमा जनविद्रोहलाई जोड दिएको छ ।
बैठकमा पदाधिकारीमध्ये उपाध्यक्ष सिपी गजुरेल र सचिव नेत्र विक्रम चन्द विप्लवले बैठकको तेस्रो र दोस्रो दिन नै धारणा राखेका थिए ।
पार्टीमा पनि कडा धारको नेतृत्व गरिरहेको भनेर चिनिएका विप्लवले पनि अध्यक्षको प्रस्तावमा सहमति जनाईसकेका छन् ।
बैठक सुरु हुनु अघि सचिव विप्लवले छुट्टै दस्तावेज पेस गर्ने चर्चा समेत चलेकाले पनि विप्लवले फरक दस्तावेज पेस गर्ने हो कि भनेर हेरिएको थियो ।
तर दस्तावेजमाथि छलफलका क्रममा विप्लवले आफूले जनयुद्धमा जाने भन्दै नभनेको भन्दै आफूले नगरेको कुरामाथि आरोप लगाउने भन्दै प्रश्न गरेको बैठकमा सहभागी एक नेताले बताए ।
‘अहिले जनयुद्धमा जाने भन्ने कुरा मैलें गरेकै छैन’ विप्लवको भनाई उदृत गर्दै ती केन्द्रिय नेताले भने, ‘भन्दै नभनेको कुरालाई लिएर आरोप लगाउनेहरु चरम अवसरवादी हुन् ।’
दस्तावेजमाथि छलफलका क्रममा विप्लवले जनयुद्धको जगमा जनविद्रोहको तयारीलाई तिब्रता दिनुपर्ने, पार्टीलाई माथि उठाउन नयाँ ढंगले सोच्नुपर्ने, अवसरवादबाट पार्टीलाई जोगाउनुपर्ने, संगठन सुदृढ बनाउन नयाँ तरिकाले संगठनलाई परिचालन गर्नुपर्ने लगायत कुरामा जोड दिएको बताइएको छ ।
अध्यक्षद्धारा प्रस्तुत दस्तावेजमा जनयुद्धको जगमा जनविद्रोहमार्फत क्रान्ति सम्पन्न गर्नुपर्ने, क्रान्तिकारी पार्टी बनाउन नयाँ ढंगले सोच्नुपर्ने लगायत कुरालाई जोड दिइएको छ । बैठकमा बोल्ने केन्द्रिय सदस्यहरु सबैले दस्तावेजमा समर्थन गरेकाले अध्यक्षको दस्तावेज स्वत पारित हुने देखिएको छ ।
प्रकाशित मिति:
December 14, 2013