क्रिकेटमा नेपालको समूहमा युएई, स्कटल्याण्ड, हङकङ र क्यानडा
मंसिर १९ । सन् २०१५ को एकदिवसीय क्रिकेटको विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह 'क' मा परेको छ ।
समूह 'क' अन्तर्गत अन्य देशहरुमा संयुक्त अरब इमिरेट्स्, स्कटल्याण्ड, हङकङ र क्यानडा रहेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार सार्वजनिक गरेको हो । जस अन्तर्गत समूह ‘ख’ मा नेदरल्याण्ड्स्, केन्या, नामिबिया, पपुवा न्यूगिनी र युगाण्डा परेका छन् ।
प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली २०१५ को विश्वकपका लागि छनोट हुनेछन् । यसअघि नै आयरल्याण्ड र अफगानिस्तान विश्वकपका लागि छनोट भइसकेका छन्।
अब नेपालले पुस २९ गते युएईसँग पहिलो खेल खेल्ने सार्वजनिक तालिकामा उल्लेख छ ।
तर त्यस अगावै पुस २६ गते नामिबिया र २७ गते केन्याविरुद्ध नेपालले अभ्यास खेल खेल्नेछ ।
यसैगरी, माघ २ गते स्कटल्याण्ड विरुद्ध, माघ ५ गते हङकङविरुद्ध, माघ ७ गते क्यानडाविरुद्ध नेपालको खेल हुनेछ ।
पहिलो चरणमा समूहमा उत्कृष्ट तीन देशले सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्समा आफ्नो समूह बाहेकको समूहबाट आउने तीन टोलीसँग खेल्नेछ ।
उत्कृष्ट दुई टोली भने माघ १८ गतेको फाइनल र २०१५ को विश्वकपमा प्रवेश गर्ने आईसीसीले जनाएको छ ।
प्रकाशित मिति:
December 04, 2013